माधव नेपालको मुद्दाबारे नबोल्न एकीकृत समाजवादीको निर्देशन

असार १५, २०८२

कान्तिपुर संवाददाता

Integrated Samajwadi's instructions not to talk about the issue of Madhav Nepal

काठमाडौँ — एकीकृत समाजवादीले काभ्रेको पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा दायर गरिएको विषयमा सार्वजनिक रुपमा नबोल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आइतबार रुपन्देहीमा कानुनी र संवैधानिक हिसाबले पार्टी अध्यक्षमाथि संकट आएकाले 'अर्ली महाधिवेशन' गर्नुपर्नेमा माग गरेकी थिइन् । 'अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनेकी थिइन् ।  

नेकपा (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट ३५ लाख धरौटीमा छुटेको पृष्ठभूमिमा झाँक्रीको यस्तो भनाइ आएपछि समाजवादीले यसबारे सार्वजनिक नबोल्न निर्देशन दिएको हो ।

‘पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा जेठ २२ गते प्रेस विज्ञप्तिमार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको सर्वविदित नै छ । यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ,’ महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ पार्टीको आधिकारिक धारणासाँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ । साथै, पार्टीमा आफ्ना धारणा राखे विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वाद प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।’

Integrated Samajwadi's instructions not to talk about the issue of Madhav Nepal

कान्तिपुर

Link copied successfully