निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लैजाने सहमति

एसईई प्रदेश तहबाट सञ्चालन गरिने, ईसीडी दुईवर्षे हुने, शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय राखिने 

असार १५, २०८२

सुदीप कैनी

Consent to make private schools non-profit

काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निजी विद्यालय र प्रारम्भिक बालविकास कक्षा (ईसीडी) सञ्चालनका विषयमा सहमति जुटेको छ ।

विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा निजी विद्यालयलाई सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने सहमति भएको हो । 

शुल्क, छात्रवृत्ति, शिक्षक र कर्मचारीलाई दिने सेवासुविधा, सञ्चालन मापदण्डलगायत विषयमा निजी विद्यालयलाई कडाइपूर्वक नियमन गर्ने व्यवस्था राख्ने सर्वसम्मतिबाट पारित भएको छ । सामुदायिक र निजी विद्यालयमा कक्षा १ मा भर्ना हुनुअघिको ईसीडीलाई दुईवर्षे कार्यक्रमका रूपमा सञ्चालन गर्ने विषयमा पनि सहमति जुटेको छ ।

हाल सामुदायिकमा १ र निजी विद्यालयमा ४ वर्षसम्म ईसीडी सञ्चालन हुँदै आएको छ । समिति सभापति अम्बरबहादुर थापाले स्रोत सुनिश्चित गरी सरकारले तोकेको मितिदेखि लागू हुने गरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बालविकास शिक्षालाई दुईवर्षे कार्यक्रमका रूपमा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका थिए । उनले कुनै पनि विद्यालयले ईसीडीलाई दुई वर्षभन्दा बढी अवधि हुने गरी सञ्चालन गर्न पाउने छैनन् भन्ने प्रस्ताव समितिको बैठकमा पेस गरेका थिए । उक्त प्रस्ताव सहमतिमा पारित भएको थापाले जनाए ।

उपसमितिबाट निजी र ईसीडीको विषयमा सहमति जुट्न सकेको थिएन । निजी विद्यालयलाई निश्चित वर्ष तोकेर गैरनाफामूलक गुठीमा लैजानुपर्ने र अहिलेकै कम्पनी मोडलमा सञ्चालन हुन दिनुपर्नेमा सांसदबीच मतान्तर देखिएको थियो । समितिमा छलफलपछि संविधानको मर्मअनुसार सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामूलक बनाउँदै लैजानेमा सांसदहरू एकमत भए । 

निजी लगानीका विद्यालयले स्तर तथा शुल्क निर्धारणसम्बन्धी राष्ट्रिय मापदण्डको अधीनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र मात्र शुल्क लिन पाउने भएका छन् । निजी विद्यालयले उपलब्ध गराउने १० देखि १५ प्रतिशत छात्रवृत्तिलाई पनि पारदर्शी र व्यवस्थित गर्ने सहमति भएको छ । कम्पनी र गैरनाफामूलक (गुठी) मोडलमा निजी विद्यालय स्थापना र सञ्चालन गर्न सकिने व्यवस्थालाई खुला राखिएको छ ।

 नयाँ संविधान जारी भएपछि २०७३ मा शिक्षा ऐनको आठौं संशोधनले कम्पनी मोडलमा निजी विद्यालय स्थापना गर्न रोक लगाएको थियो । रोक लगाउँदा एकाधिकार बढ्ने मत थियो । निजी विद्यालय सार्वजनिक गुठीमा गए जग्गा खरिद, सवारीसाधन खरिद, शैक्षिक सामग्री र प्रयोगशालाका सामग्रीमा छुटसहित राज्यले प्रोत्साहन गर्ने व्यवस्थासमेत गरिएको छ ।

ईसीडीलाई सामुदायिक विद्यालयको संरचनाभित्रै राख्नेमा पनि सहमति जुटेको छ । सभापति थापाले आधारभूत शिक्षा भन्नाले प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा ८ सम्मको विद्यालय शिक्षा सम्झनुपर्नेछ भनी निर्णायार्थ प्रस्तुत गरे । बाल सहजकर्ताका रूपमा नियुक्ति हुन कम्तीमा कक्षा १२ वा सोसरह परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने, सेवा प्रवेश तालिम अनिवार्य लिनुपर्ने र उनीहरूको पारिश्रमिक श्रम ऐनअनुसार तोकिएको न्यूनतमभन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्नेमा पनि सहमति जुटेको छ । 

हाल कार्यरत सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने शिक्षक सेवाको परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद नलाग्ने व्यवस्था गरिएको छ । केही सांसदहरूले सहजकर्ताको सट्टा बालशिक्षक भनी शिक्षकको मान्यता दिनुपर्ने धारणा राखे पनि त्यसमा भने सहमति जुट्न सकेन । शिक्षा मन्त्रालयले बालविकासलाई विद्यालय संरचनामा राख्न र निजीमा पनि दुईवर्षे ईसीडी बनाउन अस्वीकार गर्दै आएको थियो । सांसदहरूले सामुदायिक र निजीमा समान व्यवस्था नहुँदा बालबालिकामाथि विभेद हुने मत राखेपछि शिक्षा मन्त्रालय पछि हटेको हो ।

ईसीडीलाई दुईवर्षे बनाउँदा व्ययभार थपिने शिक्षामन्त्री रघुजी पन्तको तर्क थियो । सांसदहरूले बालविकास क्षेत्र मानव जीवनको सबैभन्दा सुरुको चरण रहेको बताउँदै यसलाई विद्यालय शिक्षाभन्दा बाहिर राख्न नहुनेमा जोड दिएका थिए । समितिले उपसमितिबाट सहमति भएविपरीत जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय यथावत् रहने र प्रदेशबाट कक्षा १० को एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । 

शिक्षामन्त्री पन्तले कार्यालय र एसईई आवश्यक रहेको प्रस्ताव अघि सारेपछि उपसमितिको निर्णय उल्टिएको छ । प्रत्येक जिल्लामा प्रदेश सरकारको शिक्षासम्बन्धी कामसमेत गर्ने गरी कार्यालय रहने सहमति भएको छ । शिक्षक महासंघको मागअनुसार इकाइ कार्यालय राख्नुपरेको शिक्षामन्त्री पन्तले बताए । विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा गएकाले इकाइ राख्नु संविधान र संघीयता विपरीत हुने सांसदहरूकै मतविपरीत अन्त्यमा सहमति जुटेको थियो । स्थानीय तहले शिक्षकलाई मनोमानी सरुवा र कारबाही गरेको भन्दै त्यसलाई रोक्न कार्यालय आवश्यक हुने सांसदहरूले धारणा राखेका थिए । 

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय नक्सांकन, शैक्षिक तथ्यांक संकलन, सार्वजनिक विद्यालय सम्पत्ति अभिलेख राख्ने, केन्द्र, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने कार्यालयको काम र कर्तव्य तोकिएको छ । प्रदेश सरकारको शिक्षा हेर्ने मन्त्रालयसँग कार्यालयले समन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ । 

समितिमा भएको सहमतिअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वर्षदेखि प्रदेशबाटै सञ्चालन हुने भएको छ । उपसमितिले यो विषयलाई हटाए पनि शिक्षा मन्त्रालयले गरेको प्रस्तावमाथि छलफलमा अब प्रदेशले राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा एसईई सञ्चालन गर्नेमा सहमति जुटेको हो । परीक्षासम्बन्धी अन्य व्यवस्था प्रदेश कानुनमा व्यवस्था भएबमोजिम हुनेछ भनिएको छ ।

शिक्षकको आवधिक बढुवा र अस्थायी सेवा अवधि गणनामा पनि शिक्षक महासंघको मागअनुसार नै समितिमा सहमति भएको छ । शिक्षकको आवधिक बढुवाद्वारा पदपूर्ति गर्दा तृतीत श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ वर्ष सेवा अवधि पूरा भएपछि योग्य हुने व्यवस्था गरिएको छ । त्यस्तै, २०७५ चैत मसान्तसम्म स्थायी नियुक्त भएक शिक्षकको निवृत्तिभरण र उपदान प्रयोजनका लागि नपुग सेवा अवधि निजको अस्थायी सेवा अवधिबाट गणाना गर्ने व्यवस्था विधेयकमा गर्नेमा पनि सहमति जुटेको छ । 

यी मागसहित सेवासुविधाका विषयमा गत चैत/वैशाखमा शिक्षकहरू आन्दोलित भएका थिए । सरकार र महासंघबीच २०७५ यता भएका सहमति विधेयकमा समावेश गर्न शिक्षामन्त्री पन्तले शिक्षकसँग छलफल गरी प्रस्ताव ल्याएका थिए । समितिले उपसमितिको प्रतिवदेनमाथि छलफल जारी राखेको छ ।

शिक्षक महासंघसँग समिति सभापति थापा, सत्तारूढ कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाले असार १५ भित्र विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति गरेका छन् । 

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully