काठमाडौँ — सत्तारुढ दल कांग्रेसले केन्द्रीय समिति बैठकका लागि छलफलका एजेण्डाहरु तय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समितिका छलफलका एजेण्डाहरु तय गरेको हो ।
बैठकले भ्रातृ संगठनहरुलाई समय थप्नेबारेमा छलफल गरी निर्णय निकाल्ने बताएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबारदेखि सुरु हुँदैछ । केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै केन्द्रीय समितिको बैठकमा पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा छलफल हुनेछ । प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने उनले बताए । उनले केही भ्रातृ संगठनले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताए । संस्थाको आवश्यकताको आधारमा समय दिने बारेमा छलफल हुने उनले बताए । क्रियाशील सदस्यहरुको स्थितिबारेमा पनि छलफल हुनेछ ।
प्रवक्ता महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीभन्दा माथि हुने भन्दै पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नरहेको टिप्पणी गरे । आफूहरुको पार्टीले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने दाबी गरे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार एमाले राजनीतिमा फर्कने उद्घोष गरेकी थिइन् । दुई पटक उपराष्ट्रपति बनेका नन्दबहादुर पुन यसअघि नै माओवादी केन्द्रको उपाध्यक्ष बनेका छन् ।
