मधेश प्रदेश सरकार छाड्ने धारणा बनाइसकेका छैनौं : राउत

असार १४, २०८२

विद्यानन्द राम

We have not made the decision to leave Madhesh state government: Raut

राजविराज — जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउतले बजेटमा असन्तुष्टि जनाए पनि तत्कालै मधेश प्रदेश सरकार नछाड्ने बताएका छन् । शनिबार कृषि विद्युतीकरण योजना कार्यान्वयन गराउन सप्तरीको बलान बिहुल गाउँपालिका पुगेका उनले यस्तो बताएका हुन् ।

‘जनमत पार्टी जनताको पक्षमा उभिने पार्टी हो, सोहीअनुसार कृषक लगायतका लागि दीर्घकालीन योजना ल्याएका थियौं तर धेरैजसो महत्वपूर्ण योजनाहरु हटाइएका छन्,’ उनले भने, ‘ती कारणले नै हामी असन्तुष्टि जनायौं तर तत्कालै मधेश प्रदेश सरकार छाड्ने धारणा बनाइसकेका छैनौं ।’

अर्को प्रसंगमा बोल्दै अध्यक्ष राउतले संघीय लोकतान्त्रिक मोर्चा संविधान संशोधनको विषयलाई लिएर निर्णय लिने गठबन्धन मात्रै रहेको बताए । ‘कुनै दल सरकारमा जाने वा नजाने, समर्थन गर्ने वा फिर्ता लिने विषय मोर्चामा छलफल भएको छैन्,’ उनले भने, ‘यो एउटा ‘लुज एलायन्स’ मात्रै हो, मोर्चाको मूल उद्देश्य भनेकै संविधान संशोधनको विषय हो ।’

संविधान संशोधनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको अध्यक्ष राउतको भनाइ छ । ‘त्यसका लागि भोलि पनि मोर्चाको बैठक छ, थप छलफलबाट आउँछ नै’, उनले भने ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully