आगामी वर्ष एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने उद्देश्य सरकारको छ : प्रधानमन्त्री

असार १४, २०८२

कान्तिपुर संवाददाता

The government aims to make 70 percent of students pass the SEE next year: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुने गरी बोलेको भन्दै उनले आपत्ति जनाएका हुन्। 

शनिबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद कार्य भएको बताएका छन्। यस्तो नतिजामा पनि केही मानिसहरूले अङ्क थपेर पास गराइयो भन्दै अपमान गरेको बताए। नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै दुःख लागेको बताए । उनले नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाइ अघि बढाउन सक्ने खुबी रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘खुसीको कुरा हो। यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले राम्रो नतिजा वृद्धि भएको छ। यस अवसरमा राम्रो नम्बरका साथ उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई भन्न चाहन्छु, उनीहरूको सफलताको शुभकामना दिन चाहन्छु। ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१.८१ प्रतिशतको नतिजा पुर्‍याउन मेहनत गर्ने विद्यार्थी भाइबहिनीलाई धन्यवाद दिन चाहन्छु, राम्रो ध्यान दिएर विद्यार्थीलाई पढाउने शिक्षकलाई धन्यवाद दिन चाहन्छु, उनीहरूको मेहनत सफल भएको छ।’

प्रधानमन्त्री ओलीले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी सरकारले आफ्नो योजनाअनुसार अघि बढाउने बताए। विद्यार्थी फेल नहुने परिस्थिति निर्माण गर्नुपर्ने बताए।

कान्तिपुर

Link copied successfully