काठमाडौँ — नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौँ रुपैयाँ लिएर बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भइरहेको बताएका छन्। केही मानिसहरू यदाकदा संसद्मा आएर उफ्रिने काम भएको पनि उनले बताए। यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन माग गरे।
उनले भने, ‘आफ्ना कुरा राख्ने, अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसद्मा जारी छ, यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु। सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा लिएर संसद्मा प्रतिनिधित्व गर्ने, र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ। तिनै मान्छेहरू यदाकदा संसद्मा आएर उफ्रिने काम भएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस्।’
सांसद खतिवडाले आफ्ना कुरा राख्ने र अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसद्मा जारी रहेको भन्दै यसको अन्त्य गर्न आग्रह गरे।
