राप्रपा सांसद कार्कीको चेतावनी : गृहमन्त्रीज्यु, धेरै फुर्ती नदेखाउनुस्

असार १४, २०८२

कान्तिपुर संवाददाता

RPP MP Karki's warning: Home Minister, don't be too hasty

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिएकी छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन्।

उनले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटिएको भन्दै प्रश्न गरिन्। उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेकी भए पनि चम्मु बाठो पाएको जिकिर गरिन्। उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन्।

उनले भनिन्, ‘गृहमन्त्रीज्युलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदैछ, यसको जवाफ छ, गृहमन्त्रीज्यु? विपीले भनेका थिए, जो कार्यकर्ताले नेताको ज्यादती सहेर बस्छन्, कि त तिनीहरू चरम अवसरवादी हुन्, कि त दास हुन्। तपाईंहरू कुन वर्गमा पर्नुहुन्छ? गृहमन्त्रीज्युलाई मैले त सोझो ठानेकी थिएँ, तर उनी त चम्मु बाठो रहेछन्। उनले त यस्तो समिति बनाएका रहेछन् कि आफूलाई फुत्किन र कमाइ बचाउन धेरै सजिलो भयो। धेरै फुर्ती नदेखाउनुस् गृहमन्त्रीज्यु, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ। तपाईंले दैनिक भिजिट भिसाका नाममा ५० लाखदेखि एक करोडसम्म असुली गर्नुभएको छ। नेपाली जनतालाई बेच्नुभएको छ।’

उनले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन्।

कान्तिपुर

Link copied successfully