राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान

असार १४, २०८२

रासस

Prime Minister Oli left for Spain to participate in the UN conference

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिने २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे । प्रधानमन्त्रीको बिदाइका लागि विमानस्थमा उच्च पदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख उपस्थित थिए ।

‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उनी शनिबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।  

सम्मेलनमा सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसंघीय निकायका प्रतिनिधि सहभागी हुनेछन् ।  

Prime Minister Oli left for Spain to participate in the UN conference

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राख्नेछ । दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा सम्मेलन केन्द्रित हुनेछ । स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले  विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत छन् । 

प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।

रासस

Link copied successfully