विद्या भण्डारी राजनीतिमा फर्किने घोषणाको हल्लाबारे अध्यक्ष ओली : कुनै बम पड्किनेवाला छैन, सपना नदेख्नूस्

असार १४, २०८२

कान्तिपुर संवाददाता

On rumors of Vidya Bhandari returning to politics, President Oli: No bomb is going to explode, don't dream.

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) ध्वस्त हुने सपना नदेख्न आग्रह गरेका छन्। शनिबार काठमाडौँमा जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

सञ्चारमाध्यममा आफू र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउनेजस्ता भ्रम फैलाइएको र आजैबाट नेकपा (एमाले) ध्वस्त हुने कुरा गरिएको भन्दै उनले केही पनि नहुने बताए।

उनले मदन भण्डारीको ७४ औँ जन्मजयन्तीलाई लिएर केहीले विभिन्न आश र अपेक्षा गरेका बताए । नेकपा (एमाले) एक रहेको र एक रहने तथा अब पनि एकजुट भएर अघि बढ्ने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भने, 'मदन भण्डारीको ७४ औँ जन्मजयन्तीलाई लिएर केहीले विभिन्न आश र अपेक्षा गरेका छन्। यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ — यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ भन्ने सपना देखेर बसेका छन्। कुनै बम, बन्दुक, बारुद, गोला पड्किनेवाला छैन। आश नगरे हुन्छ। नेकपा (एमाले) एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ। आश पनि कस्ता कस्ता आश गरेका होलान्। आश गरेर बसेका छन्। यसो अनलाइनतिर पसेर हेर्दा तपाईं छक्क पर्नुहुन्छ। हामी यस्तो भ्रममा पर्नु हुँदैन।'

प्रधानमन्त्री ओलीले नहुने सपना नदेख्न पनि आग्रह गरेका छन्।

कान्तिपुर

Link copied successfully