मिसन ०८४ मा कसैले बाधा पुर्‍याउन खोजे हिसाब–किताब हुन्छ : अध्यक्ष ओली

असार १४, २०८२

कान्तिपुर संवाददाता

If someone tries to disrupt Mission 084, the account will be: President Oli

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मिसन ०८४ मा कसैले बाधा पुर्‍याउन खोजे त्यसको हिसाब–किताब गरिने बताएका छन्।

शनिबार जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एमालेले अर्जुनदृष्टिका साथ मिसन ०८४ लाई हेरिरहेको बताए।

मिसन ०८४ मा कसैले बाधा पुर्‍याउन नसक्ने उनको भनाइ छ। पार्टीलाई एकताबद्ध, अनुशासित, वैचारिक हिसाबले स्पष्ट, सङ्गठनात्मक हिसाबले एकताबद्ध र अनुशासित बनाएर अघि लैजान पार्टी नचुक्ने बताए।

महाधिवेशन आउनुअघि नै कार्यकर्तालाई नलागे पनि केही स्वार्थी तत्वलाई लागिरहेको बताए। यस्ता प्रवृत्तिलाई कसैले पनि प्रोत्साहन नगर्न निर्देशन दिए।

प्रधानमन्त्री ओलीले भने, ‘पार्टीलाई एकताबद्ध, अनुशासित, वैचारिक हिसाबले स्पष्ट, सङ्गठनात्मक हिसाबले एकताबद्ध, अनुशासित बनाएर अघि लैजान पार्टी चुक्ने छैन। अनुशासनहीन ढङ्गले कोही पनि नेता, कार्यकर्ता एमालेमा चल्ने छैनन् भन्ने विश्वास लिएको छु। तर महाधिवेशन आउनुअघि नै कार्यकर्तालाई नलागे पनि केही स्वार्थी तत्त्वलाई लाग्न सक्छ। महाधिवेशनको रडाको मच्चाउन सक्छन्। घोषणा केही हुनुअघि नै उनीहरूले आ–आफ्ना घोषणा गर्न सक्छन्। यस्ता प्रवृत्तिलाई हामी कसैले पनि प्रोत्साहन गर्दैनौँ, गर्न हुँदैन। हामीले अनुशासनका साथ पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउनुपर्छ। मिसन ०८४ हाम्रो अगाडि छ। द्रोणाचार्यले धनुर्विद्या सिकाउँदा चराको आँखा मात्रै देखे जस्तै हामी मिसन ०८४ देखिरहेका छौँ। मिसन ०८४ मा कसैले बाधा पुर्‍याउन सक्दैन, पुर्‍याउन खोजे त्यसको हिसाब–किताब गरिनेछ।’

प्रधानमन्त्री ओलीले अनुशासनका साथ पार्टीलाई एकताबद्ध ढङ्गबाट अघि बढाउन आग्रह गरे ।

कान्तिपुर

Link copied successfully