काठमाडौँ — युट्युब च्यानल इन्डेप्थ स्टोरीले डिजाइन गरेको ‘केरा गणतन्त्र’ लेखिएको टि–सर्ट नबेच्न सरकारले निर्देशन दिएको छ ।
हेलो सरकारमा परेको उजुरीको कार्यान्वयनका क्रममा नेपाल प्रहरीको साइबर ब्युरोले टिसर्ट बिक्रीका लागि रोक लगाएको हो । ‘यो टि–सर्टले देशको शान्ति सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुगेको भन्दै उक्त डिजाइनको प्रचार र बिक्रीमा रोक लगाउन हेल्लो सरकारमा उजुरी परेको रहेछ,’ ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक राज अवस्थीले भने, ‘हामीले मन्त्रालय हुँदै आएको निर्देशन कानुनअनुसार पूरा गरेका हौं ।’
तर इन्डेप्थ स्टोरीले भने सामाजिक सञ्जालमार्फत ‘केरा गणतन्त्र’ को अर्थ र ऐतिहासिक सन्दर्भ स्पष्ट पार्न प्रयत्न गरे पनि प्रहरीले नबुझेको बताएको छ । सामाजिक सञ्जालमा उल्लेख भएअनुसार तत्कालका लागि सम्पूर्ण डिजाइनको अर्डर स्थगित गरिएको छ ।
प्रहरी उपरीक्षक अवस्थी आफ्नो व्यापार व्यवसायका लागि मन लागेको कुरा गर्न नपाइने बताउँछन् । ‘सबै कुरा देशको नियम र कानुन अनुसार हुन्छ,’ उनले भने, ‘उद्देश्य र विषय प्रस्टनभएका कारण बिक्री वितरण नगर्न भनिएको हो ।’
आर्थिक, राजनीतिक र सामाजिक बहसमा बारम्बार आउने शब्द ‘बनना रिपब्लिक’ अर्थात् ‘केरा गणतन्त्र’ सन् १९०४ मा अमेरिकी विद्वान् ओ हेनरीले ‘क्याबेजेज एन्ड किङ्ग्स’ नामक आफ्नो पुस्तकमा पहिलोपटक प्रयोग गरेको भेटिन्छ । मध्य अमेरिकी देशहरूमा बस्दा त्यहाँका मुलुकको अध्ययन गर्ने क्रममा उनले होन्डुरसलाई ‘केरा गणतन्त्र’ को संज्ञा दिएका थिए । यसै सन्दर्भबाट ‘बनना रिपब्लिक’ शब्दको प्रयोग आर्थिक तथा राजनीतिक क्षेत्रमा हुन थालेको थियो ।
