रूपन्देही-३ उपनिर्वाचन : कांग्रेसबाट बालकृष्ण खाँणदेखि एमालेका खिमलाल भट्टराईसम्मको चर्चा

मधेशवादी दलको साझा उम्मेदवार बनाउने प्रयास, समाजवादी र माओवादी पनि छलफलमा, राप्रपामा दीपककै दुई छोराबीच लडाइँ, रास्वपा प्रभावशाली उम्मेदवार खोज्दै

असार १३, २०८२

घनश्याम गौतम

Rupandehi-3 by-election: Discussion from Balkrishna Khan from Congress to Khimlal Bhattarai of UML

बुटवल — निर्वाचन आयोगले कात्तिकमा उपनिर्वाचन गर्ने तयारी गरेसँगै रूपन्देही क्षेत्र नं. ३ मा उपनिर्वाचनको माहोल सुरु भएको छ । दलहरूले उम्मेदवारको विषयमा छलफल र चर्चा गर्न थालेका छन् । यो क्षेत्रमा क्रियाशील कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेशवादी दलहरू पनि आन्तरिक तयारीमा जुटेका छन् ।

२०७९ को निर्वाचनमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई हराएर विजयी भएका राप्रपाका नेता दीपक बोहोरा‌को २०८१ चैत १९ मा निधनपछि रूपन्देही क्षेत्र नं. ३ खाली भएको थियो । निर्वाचन आयोगले कात्तिकमा उपनिर्वाचनको तयारी सुरु गरेपछि रूपन्देही-३ मा पनि चर्चा र तयारी सुरु भएका हुन् । बोहोरा‌लाई कोभिड संक्रमणपछि घाँटीमा गम्भीर समस्या देखिएकाले चुनावको बेला पनि नबोली चुनावी सभाहरूमा देखिने मात्र गरेका थिए । उनको सट्टामा छोरा प्रज्वल र राप्रपाका कार्यकर्ताहरूले बोल्ने र चुनावी प्रतिबद्धता गरिदिने गरेका थिए । निर्वाचित भएपछि संसदमा पनि नबोलीकन उनको मृत्यु भएको थियो ।

उपनिर्वाचनको तयारी र चर्चा सुरु भएसँगै रूपन्देही-३ मा विभिन्न उम्मेदवारहरूको चर्चा पनि सुरु भएको छ। केही नेताहरूले भूगोलमा खटिएर चुनावी तयारी नै सुरु गरिसकेका छन् । कांग्रेसबाट पहिलो चर्चा बालकृष्ण खाँणको छ । तर, उनको भुटानी शरणार्थी प्रकरणको मुद्दाको टुंगो नलागेकाले विकल्पमा अन्यको पनि चर्चा छ । स्रोतका अनुसार कांग्रेस संस्थापन पक्षले एमालेसँग समेत समन्वय गरेर खाँणलाई नै अघि सार्ने तयारी गरिरहेको छ । खाँणसँगै उनको विकल्पमा कांग्रेस नेता प्रमोद यादव र भरत शाह पनि देखिएका छन् । यादव २०७९ मा रूपन्देही क्षेत्र नं. ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए । शाह क्षेत्र नं. ५ मा एमालेका वासुदेव घिमिरेसँग पराजित उम्मेदवार हुन् ।

त्यस्तै एमालेबाट खिमलाल भट्टराई बलिया उम्मेदवार हुन् । उनी राष्ट्रिय सभाको १८ महिना अवधि बाँकी हुँदै राजीनामा दिएर २०७९ मै रूपन्देही-५ बाट उम्मेदवार बन्न खोजेका थिए । तर, उनको स्थानमा एमालेका वासुदेव घिमिरेले पहिला नै उम्मेदवार दर्ता गरेपछि भट्टराईको उम्मेदवारी दर्ता नै हुन पाएको थिएन । त्यसैले एमालेमा अहिले उनी पहिलो दाबेदार हुन् । एक साताअघि उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको तस्बिर सार्वजनिक गरेका छन् ।

अहिले भूगोलमै खटिएकाले उनी नै उम्मेदवार बन्ने सम्भावना बढेको एक एमाले नेताले बताए । तर, यो क्षेत्रमा एमाले कमजोर छ । उनीबाहेक एमालेबाट पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, भरत पोखरेलको पनि चर्चा चलेको छ । एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरेले भने उपनिर्वाचनको मिति घोषणा भएपछि पार्टीले उपयुक्त र जित्ने उम्मेदवार अघि सार्ने बताए । ‘हामीसँग क्षमतावान धेरै नेता छन्,’ उनले भने, ‘उपयुक्त नेतालाई पार्टीले सिफारिस गर्छ।’ एमाले एकल चुनाव लड्ने उनले बताए ।

यो क्षेत्र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालको क्षेत्र पनि हो । २०७४ मा यही क्षेत्रमा चुनाव जितेका भूसाल गत निर्वाचनमा भने क्षेत्र नम्बर १ मा एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए । उनी पनि उपनिर्वाचनको उम्मेदवार बन्न सक्ने सम्भावना छ । नेकपा (माओवादी केन्द्र) बाट स्थायी समिति सदस्य तथा पूर्वराज्यमन्त्री हकिकुल्ला खाँ र जिल्ला इन्चार्ज सोनिया यादवको नाम चर्चामा छ । तर, भूसाल उठेको अवस्थामा माओवादीले क्षेत्र छोड्न सक्ने चर्चा पनि छ ।

त्यस्तै मधेशवादी दलहरूले पनि यस क्षेत्रमा साझा उम्मेदवार उठाउने तयारी गरेका छन् । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध चार दलले बिहीबार काठमाडौंमा भेला गरेर साझा उम्मेदवार बनाउने गरी छलफल सुरु गरेका हुन् । मधेशवादी दलको शक्ति धेरै भए पनि अलग-अलग जाँदा जित्न नसक्ने निष्कर्षसहित मधेशवादी दल छलफलमा जुटेका हुन् । बैठकमा सहभागी राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले आफूहरूसहित रूपन्देही निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीले दाबी गरेको बताए ।

गत निर्वाचनमा समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टीले ६ हजार १०, जसपा नेपालले ५ हजार २ सय ९१, लोसपाले ५ हजार ५३ र जनमतले ३ हजार ७ सय ३२ मत ल्याएका थिए । तर, गत निर्वाचनमा राप्रपाका दीपक बोहोराले ३६ हजार ७ सय १७ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिएर सम्मानजनक मत पाएकाले अहिले पनि उम्मेदवारी दिने तयारी भएको भन्दै सहयोगका लागि अन्य दललाई आग्रह गरेका थिए ।

बिहीबारको बैठकमा जसपा नेपालबाट उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन र रामकुमार शर्मा, नागरिक उन्मुक्तिबाट रेशमलाल चौधरी, लालबीर चौधरी र अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा र सीएन थारु सहभागी थिए । त्यस्तै लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा, जनमतबाट अब्दुल खान, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजी यादव र सबिर हुसेन, तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह सहभागी भएको एक नेताले बताए ।

दीपक बोहोराको निधनपछि निर्वाचन क्षेत्र गुमाएको राप्रपाले पुनः त्यसलाई फिर्ता ल्याउने रणनीतिअनुसार बोहोराकै छोराहरूलाई अघि सार्ने तयारी गरेको छ । दीपकका छोरा प्रज्वल बोहोरा अहिले चुनावी रणनीतिसहित क्षेत्रमै खटिएका छन् । राप्रपाकै अर्को समूहले दीपककै जेठा छोरा पाइलट गौरव बोहोरालाई अघि सार्ने तयारी गरिरहेको छ । गौरवलाई अन्य साना दलको समर्थन लिनका लागि स्वतन्त्रबाट उम्मेदवार बनाउने चर्चा पनि चलिरहेको छ । तर, कसलाई उम्मेदवार बनाउने भन्ने विषय अहिल्यै चर्चा गर्न आवश्यक नभएको राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणाले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा भने धेरै नेता आकांक्षी छन् । २०७९ को निर्वाचनमा पराजित जेपी गुप्ता पहिलो आकांक्षी छन् । रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेको र निर्वाचन क्षेत्र पनि त्यही नै पर्ने भएकाले रास्वपाले पनि यस क्षेत्रबाट प्रभावशाली व्यक्तिको उदय गराउने प्रयासमा रहेको रास्वपाकै नेताहरूको दाबी छ । तर, पार्टीका जिल्ला अध्यक्ष बुद्धि शर्माले अहिले यो विषयमा पार्टीमा छलफल नै नभएको बताए ।

अहिलेसम्म रूपन्देही-३ मा १ लाख ३९ हजार ७ सय ६४ मतदाता छन् । त्यसलाई निर्वाचन आयोगले अद्यावधिक गर्न लागेको छ । रूपन्देही-३ मा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई समेटिएको छ । नेपाल-भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

स्थानीय तहको परिणामअनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ। लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully