सामुदायिक र निजी विद्यालयको ‘ईसीडी’ अवधि फरक-फरक

सामुदायिक विद्यालयले दुई वर्षसम्म र निजीले जति वर्ष पनि सञ्चालन गर्न सक्ने प्रस्ताव, ‘ईसीडी’ मा पढाउने जनशक्तिलाई शिक्षकको मान्यता दिन पनि अस्वीकार

असार १३, २०८२

सुदीप कैनी

The 'ECD' period of public and private schools is different

काठमाडौँ — कक्षा १ भन्दा अघिको प्रारम्भिक बालविकास कक्षा (ईसीडी) सञ्चालनमा सामुदायिक र निजी विद्यालयमा फरक–फरक अवधि राख्ने प्रस्ताव अघि सारिएको छ । सामुदायिक विद्यालयले दुई वर्षसम्म र निजीले जति वर्ष पनि सञ्चालन गर्न सक्ने व्यवस्था विद्यालय शिक्षा विधेयकमा प्रस्ताव गरिएको हो । फरक–फरक अवधि हुँदा बालबालिकामाथि विभेद हुने तर्क सांसदहरूले गरेका छन् ।

शिक्षा मन्त्रालयको प्रस्तावमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको परामर्श तथा समन्वय उपसमितिले यस्तो व्यवस्था अघि सारेको हो । प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘स्रोत सुनिश्चित गरी सरकारले तोकेको मितिदेखि लागू हुने गरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बालविकास तथा शिक्षालाई दुईवर्षे कार्यक्रमका रूपमा सञ्चालन गर्न सकिनेछ ।’ 

हाल सामुदायिक विद्यालयमा १ वर्षे र निजीमा ३ देखि ४ वर्षसम्म ईसीडी कक्षा सञ्चालन हुँदै आएको छ । उक्त विषयमा छलफल गर्न एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वमा बनेको उपसमितिले सामुदायिक र निजी दुवै विद्यालयमा ईसीडीलाई दुईवर्षे बनाउने सहमति गरी प्रतिवेदन पेस गरेको थियो । 

समिति सभापति अम्बरबहादुर थापा अध्यक्षताको परामर्श उपसमितिले सामुदायिकमा दुईवर्षे ईसीडी सञ्चालन गर्ने व्यवस्था यथावत् राख्ने र निजीका विषयमा मौन बस्ने प्रस्ताव गरेको हो । परामर्श उपसमितिले ईसीडीलाई विद्यालय संरचनाभित्र नराख्ने प्रस्ताव गरेको छ । यसमा उपसमितिमा सहमति जुट्न बाँकी छ ।

नयाँ प्रस्तावमा ईसीडीमा पढाउने जनशक्तिलाई शिक्षकको मान्यता दिन पनि अस्वीकार गरिएको छ । हाल बालविकास कार्यकर्ता भनिएको छ । शिक्षामन्त्री रघुजी पन्तको प्रस्तावमा उनीहरूलाई बालविकास सहजकर्ता भन्ने प्रस्ताव परामर्श समितिले गरेको हो । ‘निजी विद्यालय र ईसीडी सञ्चालनका विषयमा सहमति कायम गर्न बाँकी छ, प्रस्तावमाथि समितिमा छलफल गरेर टुंगो लगाउँछौं,’ सभापति थापाले भने । उक्त विषयमा शुक्रबार समितिमा छलफल हुँदै छ । 

गत फागुनमा शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक दीपक शर्मा संयोजकत्वको विज्ञ सम्मिलित कार्यदलले ईसीडीलाई दुईवर्षे बनाउन सरकारलाई सुझाव दिएको थियो । एमाले सांसद विश्वकर्मा संयोजकत्वको उपसमितिले सरकारले तोकेको मितिदेखि लागू हुने गरी सार्वजनिक विद्यालयमा ईसीडीलाई दुईवर्षे कार्यक्रमका रूपमा सञ्चालन हुने सहमति गरेको थियो । 

यस्तै, ईसीडीलाई विद्यालयको आधारभूत तह (कक्षा ८ सम्म) को मान्यता दिने सहमति पनि उल्टाउन खोजिएको छ । उपसमितिले आधारभूत तह भन्नाले बालविकास (ईसीडी) देखि कक्षा ८ सम्मको विद्यालय सम्झनुपर्छ भनी व्याख्या गरेको थियो । प्रस्तावित व्यवस्थामा कक्षा १ देखि ८ सम्मको विद्यालयलाई आधारभूत मान्नुपर्ने उल्लेख छ ।

उक्त शब्दले ईसीडीलाई समेत जनाउने भनी व्याख्या गरिएको छ । जबकि त्यहाँ पढाउने जनशक्तिलाई शिक्षकको मान्यता दिनेमा उपसमितिमा पनि सहमत हुन सकेको छैन । 

शिक्षा मन्त्रालयकै प्रस्तावमा कक्षा १० को अन्त्यमा सञ्चालन गर्ने एसर्ईई परीक्षा प्रदेशस्तरमा लिने र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ राख्ने प्रस्ताव गरिएको छ । एसईई राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा सञ्चालन गर्ने उल्लेख छ । उक्त प्रस्तावमा सांसदहरूको लगभग सहमति देखिन्छ । प्रत्येक जिल्लामा प्रदेश सरकारको शिक्षासम्बन्धी कामसमेत गर्ने गरी इकाइ रहने प्रस्तावित व्यवस्था छ । 

विधेयकमा उपसमितिबाटै टुंगो लाग्न नसकेको निजी विद्यालय सञ्चालनका विषयमा भने सांसदहरूबीच मतान्तर देखिएको छ । निजी विद्यालयलाई अहिलेकै कम्पनी मोडलमा सञ्चालन हुन दिने कि गैरनाफामूलक (गुठी) मा लैजाने भन्ने विषयमा सांसदहरूले फरक तर्क प्रस्तुत गरेका छन् । बिहीबार समितिको बैठकमा निजी विद्यालय सञ्चालनसम्बन्धी व्यवस्थाबारे छलफल भएको थियो । छलफलमा सत्तारूढ कांग्रेस, एमालेका सांसदहरूले मिश्रित धारणा राखे भने प्रतिपक्षी दल माओवादी, रास्वपाका सांसदले निश्चित वर्ष तोकेर निजी विद्यालयलाई गुठीमा लैजानुपर्नेमा जोड दिए ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले लोकतान्त्रिक मुलुकमा निजी लगानीलाई नियन्त्रण गर्न नसकिने बताए । ‘सांसदहरूले १०–१५ वर्ष समय दिएर गुठीमा लैजाने भन्नुभएको छ । निजीलाई निषेध गरेर जान सकिँदैन । कि राज्यले उचित मुआब्जा दिएर सरकारले लिनुपर्छ,’ उनले भने, ‘निजीको व्ययभार राज्यले धान्न सक्दैन । राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरिदिएका छन् ।’ मापदण्ड तय गरेर निजी विद्यालयलाई नियमन गर्नुपर्नेमा भने उनले जोड दिए ।

शिक्षामन्त्री रघुजी पन्तले पनि घिमिरेकै धारणामा समर्थन जनाए । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई कम्पनी मोडलमा नै सञ्चालन हुन दिनुपर्ने, कम्पनी र गुठी दुवै मोडलमा विद्यालय स्थापना गर्न खुला गर्नुपर्ने प्रस्ताव यसअघि नै गरेको छ । २०७२ सालदेखि शिक्षा ऐनको संशोधनले कम्पनी मोडलमा निजी विद्यालय खोल्न भने रोक लगाएको थियो । रोक लगाउँदा सिन्डिकेट बढ्ने शिक्षामन्त्री पन्तको भनाइ छ । 

एमाले सांसद छविलाल विश्वकर्माले पनि निजीलाई अहिले नियन्त्रण गर्न सक्ने अवस्था नरहेको औंल्याए । ‘सार्वजनिक विद्यालय राम्रो हुँदै जाँदा निजी स्वतः कम हुँदै जान्छन् । हाम्रो ध्यान सामुदायिक विद्यालयको स्तर माथि उठाउनेतर्फ हुनुपर्छ,’ उनले भने । शैक्षिक गुठीमा जान बाध्यकारीभन्दा पनि स्वैच्छिक व्यवस्था गरेर प्रेरित गर्नुपर्ने उनले सुझाए । ‘निजीको योगदानलाई अवमूल्यन गर्न हुँदैन । प्रभावकारी नियमन गरेर कडाइँचाहिँ गर्नुपर्छ,’ उनले भने ।

पूर्वशिक्षामन्त्रीसमेत रहेका माओवादी सांसद देवेन्द्र पौडेल, एमाले सांसद विद्या भट्टराई र रास्वपा सांसद सुमना श्रेष्ठले भने निजी विद्यालयले दिने शिक्षालाई सेवामूलक बनाउनुपर्ने धारणा राखे । पौडेलले संविधानले शिक्षा मौलिक हक र सेवामूलक हुने कल्पना गरेकाले शिक्षा ऐन जारी हुँदा त्यसबाट दायाँ–बायाँ गर्न नमिल्ने औंल्याए ।

निश्चित समय दिएर निजीलाई गैरनाफामूलक (गुठी) मा लैजानुपर्नेमा उनले जोड दिए । ‘धनी–गरिबको विभेद शिक्षाले गर्नु हुँदैन भन्ने संविधानमा पनि छ । आजै गुठी बनाऔं भनेको पनि छैन । राज्य त्यसतर्फ जानुपर्छ भनेको हो,’ उनले भने । शिक्षा क्षेत्र लगानी र व्यापार गर्ने क्षेत्र हुन नहुने उनले बताए । 

भट्टराईले शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताइन् । संविधानले पनि शिक्षा, स्वास्थ्यलाई मौलिक हकमा राखेर अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न भनेको उनले औंल्याइन् । ‘कम्पनी दर्ता भएका निजी विद्यालयलाई शिक्षा मन्त्रालयले नियमन गर्न सक्दैन । उद्योग मन्त्रालयले हेर्ने हो । संविधानको मर्मअनुसार कानुन बन्नुपर्छ । आम बालबालिकालाई सार्वजनिक विद्यालयको संस्कृति स्वीकार गर्न सक्ने बनाउनुपर्छ,’ उनले भनिन्, ‘सामुदायिक र निजीले गरेको वर्ग विभेद अन्त्य हुनुपर्छ ।’

सांसद श्रेष्ठले १५ वर्षभित्र निजी विद्यालयलाई गैरनाफामूलक/लोककल्याणकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । ‘जुत्ता बेचेजस्तो शिक्षामा नाफा कमाउन मिल्दैन । यो संविधान र सर्वोच्च अदालतले समेत व्याख्या गरेको कुरा हो । निजी विद्यालयलाई राष्ट्रियकरण गर भनेको छैन । सेवामूलक बनाउन भनेको हो,’ उनले भनिन् । शिक्षा, स्वास्थ्यलाई नाफामूलक बनाउन नसक्ने भए संविधान संशोधन गरेर मात्र विधेयकमाथि छलफल अघि बढाउनुपर्ने उनको तर्क थियो ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully