इस्मामा पाँचभन्दा बढी दुहुना गाईभैंसी पालकलाई मासिक १० हजार खर्च

कृषि तथा पशुपालन क्षेत्र विकासका लागि पालिकाको पशु हेरालु अनुदान कार्यक्रम

असार १३, २०८२

सन्तोष महतारा

10,000 per month for rearing more than five duhuna cattle in ISMA

गुल्मी — इस्मा गाउँपालिका–५ का कृष्णबहादुर महतको गोठ गाईले भरिभराउ छ । मल आफ्नै बारीमा प्रयोग गर्ने भएकाले उनको आम्दानीको मुख्य स्रोत दूध हो । त्यसमाथि गाई पालेकै भरमा पालिकाले मासिक १० हजार रुपैयाँ अनुदान दिन थालेपछि उनी मक्ख छन् ।

‘गाउँमै केही गर्ने सोचले गाईपालन सुरु गरें,’ उनले भने, ‘पालिकाले अनुदानसहित निःशुल्क औषधि दिएपछि मिहिनेतको फल पाएको लागेको छ ।’ तीन वर्षदेखि सञ्चालन गरेको उनको न्यु नमुना कृषि तथा पशुपन्छी फार्ममा हाल १४ वटा गाई छन् । पाँच दुहुना गाईबाट ४५ लिटर दूध बजार पुर्‍याउँछन् ।

इस्मा गाउँपालिका–६ का अर्का किसान कमल पराजुलीले एकीकृत पशुपन्छी तथा कृषि फार्ममा गाई पालेका छन् । उनको फार्ममा हाल ५ वटा माउ गाई छन् । पालिकाले मासिक १० हजार अनुदान दिएपछि उनी गाईपालनमा थप आकर्षित भएको बताउँछन् । 

‘मेरा लागि त यो पेन्सन नै भएको छ,’ उनले भने, ‘व्यावसायिक पशुपालक भए पनि यसले ठूलो राहत दिएको छ ।’ उनले अघिल्लो वर्षदेखि गाईपालन सुरु गरेका हुन् । इस्मा गाउँपालिका–१ का टामलाल कुँवरले गौरव कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरेर भैंसीपालन गरेका छन् ।

पालिकाले सहायता दिएपछि उनले केही हदसम्म भए पनि स्थानीय सरकार भएको अनुभूति गरेको बताए । ‘पालिकाले हामीलाई हेरालुबापत आर्थिक सहयोग गरेको छ,’ उनले भने, ‘कामदार लगाउन सजिलो भइरहेको छ ।’ गत वर्षदेखि यो सुविधामा जोडिएको फार्ममा हाल ८ भैंसी र २ गाई छन् । दैनिक ३० देखि ३५ लिटर दूध बजार पुर्‍याउँदै आएका छन् । उनलाई सघाइरहेकी गीता कुँवरले पालिकाले प्रोत्साहन गरेकामा खुसी रहेको बताइन् । 

10,000 per month for rearing more than five duhuna cattle in ISMA

पालिकाले पशु हेरालु अनुदानअन्तर्गत प्रदान गर्ने मासिक १० हजार रुपैयाँबाट पालिकाका पाँचवटा फार्म लाभान्वित भएका छन् । हेरालु अनुदानमा घिमिरे कृषि तथा पशुपन्छी फार्म अम्मरपुर, न्यु नमुना कृषि तथा पशुपन्छी फार्म रजस्थल, गगन–गृष्मा कृषि तथा पशुपालन फार्म हस्तीचौर, एकीकृत कृषि तथा पशुपन्छी फार्म अम्मरपुर र गौरव कृषि तथा पशुपन्छी फार्म हस्तीचौर समेटिएका छन् । 

इस्मा गाउँपालिकाले गत वर्षदेखि यो कार्यक्रम अगाडि बढाएको थियो । कार्यक्रमको मापदण्डअनुसार पाँच गाई वा भैंसी दुहुना भएको हुनुपर्नेछ । यससम्बन्धी अनुगमन वडाका पशु प्राविधिकले गर्दै आएका छन् । हरेक वर्ष साउनमा फार्महरू सूचीकृत गरी सम्झौता गरेर भदौदेखि असारसम्म ११ महिनाको रकम पालिकाले किसानलाई भुक्तानी दिने गरेको छ । गत वर्ष पाँचवटा फार्मले ११ महिनाको ५ लाख ५० हजार रुपैयाँ भुक्तानी पाइसकेका छन् । 

गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले कृषि तथा पशुपालन क्षेत्रको दीर्घकालीन विकासका लागि पशु हेरालु अनुदान कार्यक्रम ल्याइएको बताए । ‘अनुदानले पशुपालनमा आकर्षण बढ्न थालेको छ,’ उनले भने, ‘कार्यक्रमबाट पालिका दूधमा आत्मनिर्भर भई जिल्ला सदरमुकाम तम्घासमा पनि बिक्री भइरहेको छ ।’

सन्तोष

Link copied successfully