आज देश-दुनियाँमा के-के भयो ?

असार १२, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — एसईई प्रदेश सरकार मातहत र जिल्ला शिक्षा कार्यालय राख्न सांसदहरू सहमत, सडक सुक्दै गएपछि खुल्यो दाउन्नेको जाम, सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी, विद्यालयमा पठनपाठन रोकेर जसपा नेपालको गाउँपालिका अधिवेशनदेखि एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्तासम्मका खबर आज चर्चामा रहे । 

०००

विद्यालय शिक्षा विधेयक टुंगो लगाउन बसेको संसद्‌को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको परामर्श उपसमितिमा एसईई प्रदेश सरकार मातहत रहने र जिल्ला शिक्षा कार्यालय राख्ने विषयमा सहमति जुटेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको प्रस्तावमा सांसदहरु सहमत भएका हुन् । 

०००

दाउन्ने सडकको हिलो सुकेका कारण ११ दिनदेखि पूर्वी र पश्चिम नवलपरासीमा रोकिएका सबै गाडी वारपार भएका छन् । यहाँ मंगलबार साँझदेखि ठूलो पानी परेको छैन । पानी नपरेर राजमार्ग सुक्खा भएपछि दुई जिल्लाका विभिन्न स्थानमा रोकिएका सबै गाडी दाउन्ने वारपार भएका छन् । 

०००

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । 

०००

जनता समाजवादी पार्टी (जसपा) नेपालले सामुदायिक विद्यालयमा पठनपाठन रोकी गाउँपालिका अधिवेशन गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिकाको वडा नम्बर ५ कट्टीस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा बिहीबार अधिवेशन सञ्चालन गराएको हो । अधिवेशनको निर्वाचन तालिकाअनुसार बिहान ९ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो ।

०००

पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले  बुधबार बताएका छन् । सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरुलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको जनाएका छन् । 

कान्तिपुर

Link copied successfully