विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि सुरु भएको नारायणगढ-बुटवल सडक खण्डको दु:ख अझै उस्तै
काठमाडौँ — गत पुस २६ गते महेन्द्र राजमार्गको दुम्कीबासस्थित विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि सुरु भएको नारायणगढ-बुटवल सडक खण्डको दु:ख अझै पनि उस्तै छ । ५ महिनाभन्दा बढी भइसक्यो विनयी खोलामा बारम्बार आउने समस्याले राजमार्गको यो खण्ड पूरै अस्तव्यस्त भएको । जसले मारमा छन्, यो बाटो भएर हरेक दिन गुड्ने सरदर १८ हजारभन्दा धेरै गाडीका चालक र यात्रुहरु ।
अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएपछि सडक विभागले पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सञ्चालन गरेको थियो । तर वर्षालगत्तै खोला बढेपछि बारम्बार डाइभर्सन बग्ने र यातायात ठप्प हुने क्रम बारम्बार दोहोरिएको छ ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सिनाले यो डाइभर्सन ९ पटक बगिसकेको बताए । हरेकपल्ट डाइभर्सन बग्दा यो सडक हुँदै गन्तव्यतर्फ गइरहेका हजारौं यात्रु र चालकले सास्ती बेहोरिरहेका छन् ।
भैरहवा–काठमाडौं रुटमा ना ५ ख ७४११ नम्बरको ट्रक चलाइरहेका कृष्णबहादुर श्रेष्ठ बर्दघाटमै अड्किएको ४ दिन भयो । दुम्कीबासको डाइभर्सन बाढीले बगाएको भन्दै प्रहरीले उनलाई अगाडि नबढ्न भनेको छ । 'वीरगन्जबाट एक गते लोड गरेर भैरहवा हुँदै यो ठाउँमा आएर बसेको ४ दिन भयो । ४ दिन दुम्कीबासपारि नै खडा भएर बसियो । आज १० दिन भयो । १० दिनमा कति दुःख कति, सुख, कति गर्मी भोगियो होला,' उनले सुनाए ।

भैरहवाबाट काठमाडौँ हिँडेका अर्का ट्रक चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । उनले ठाउँ न कुठाउँ कैयौं दिनसम्म चालकहरु रोकिनुपर्दा केही साथीहरु लामखुट्टेको टोकाइबाट डेंगी सङ्क्रमित भएर अस्पताल भर्ना हुनुपरेको अनुभव पनि उनले सुनाए । न्यौपानेले आक्रोशित हुँदै भने, 'मचाहिँ दोष दिन्छु, माथि मन्त्रीहरूलाई । मन्त्रीहरूलाई यो थाहा छैन ? मन्त्रीहरूले यो देखेको छैन ? संसद्मा मात्रै कुरा उठाएर हुन्छ ?'
आलु र प्याज बोकेर भैरहवाबाट हिँडेका ना ६ ख ३६९९ नम्बरको ट्रक चालक सुबोध पासवान पनि ४ दिनदेखि बर्दघाटमा अड्किएका छन् । चर्को गर्मीका कारण आलु र प्याज कुहिएर गन्हाउँदा सुत्नसमेत नसकिएको बताउँदै उनले भने, 'दस चक्केसम्म गाडी जान दिने, बसहरू जान दिने । हाम्रो १२ चक्के जान नदिने ? पुलिसलाई सोध्दा हामीलाई केही कुरा थाहा छैन, माथिबाट आदेश आएको छैन भन्छन् । आलुप्याज बोकेको हाम्रो २२ वटा गाडी छ । सबै कुहिएर गइरहेको छ । गन्हाएर सुत्न सकिएको छैन ।'
५२ वर्षअघि विनयी खोलाको फलामे पुल बनाइएको थियो । राजमार्ग फराकिलो पार्ने क्रममा खोलामा पक्की पुल बनाएर पनि सकिएको छ । दुई साताअघि पक्की पुलको ढलान भएको थियो । सडक विभागका अनुसार ढलान गरेको चार सातापछि त्यसमाथिबाट गाडी गुडाउन मिल्नेछ । असार २२ मा ढलान गरेको चार साता पुग्ने भएकाले त्यतिन्जेल विनयी खोलामा यात्रुहरुले सास्ती पाइराख्ने देखिन्छ ।

पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजारको बीचमा १४ किलोमिटर लामो दाउन्ने सडकमा अहिले सबैभन्दा चर्को समस्या छ । मोडैमोड अनि अत्यधिक उकालो र हिलाम्य सडकका कारण पछिल्लो यो सडक खण्ड बारम्बार अवरुद्ध छ । जसको मारमा परिरहेका छन्, हजारौं यात्रुहरु ।
दुम्कीबासवाट ४ किलोमिटर पश्चिम दाउन्ने सडकमा ४ वटा ठूला कल्भर्ट निर्माणाधीन छन् । उक्त स्थानमा एकतर्फी मात्रै गाडी गुडाउन मिल्ने भएकाले पनि सडक खुलेका बेला पनि यहाँ जाम भई नै रहन्छ ।
