'शैलुङको आलुलाई मुडेको भनेर बेचिदिँदा चित्त दुख्छ !'

‘हामी शैलुङमा आलु खेतीले घर चलाउँछौं, हामीले उत्पादन गरेको आलु अन्तैको भनेर बेच्दा चित्त दुख्छ, शैलुङको आलु भनिदिनुस् भनेर भन्छौं, खै किन हो उता लगेपछि मुडेकै आलु भनिदिन्छन् ।’

असार १२, २०८२

केदार शिवाकोटी

'It hurts when Shailung potatoes are sold as rotten!'

काठमाडौँ — घर अगाडि आलु खनेर बेच्ने तयारी गरिरहेकी शैलुङ–६ चिसापानीकी कुमारी तामाङको मुहारमा बेग्लै चमक छ । हिउँदमा रोपेको आलु बारीमा बेच्न ठिक्क भएका छन् । उनी आलु खन्ने चटारोमा छिन् । जिल्लाका नौ वटा स्थानीय तहकै उच्च क्षेत्रमा बसोबास गर्नेको मुख्य आम्दानीको स्रोत आलु हो ।

जिल्लाबाट सबैभन्दा बढी शैलुङ गाउँपालिकाबाट निर्यात हुन्छ । मौसम अनुकूल भएका कारण आलु उत्पादन बढेको खुसी कुमारीको मुहारमा झल्कन्छ । 

‘यो वर्ष आलु उत्पादन बढेको अनुमान गरेकी छु,’ उनले भनिन्, ‘मुख्य आम्दानीको स्रोत आलु हो, यसैले वर्षभरिको खर्च धान्नुपर्छ ।’ यो वर्ष ४/५ लाखसम्मको आलु बेचिन्छ कि भन्ने उनलाई लागेको छ । ‘अहिलेसम्म भाउ तोकिएको छैन, ठेकेदार अब आएर भाउ तोक्छन्,’ उनले भनिन्, ‘गएको वर्ष ठिकठाक भाउ पाएका थियौँ, यो वर्ष हेरौँ, के हुन्छ ।’ तर उनको एउटै गुनासो छ- शैलुङको आलुलाई मुडेको भनेर बेचिदिँदा चित्त दुख्छ  ! ‘हामी शैलुङमा आलु खेतीले घर चलाउँछौं, हामीले उत्पादन गरेको आलु अन्तैको भनेर बेच्दा चित्त दुख्छ, शैलुङको आलु भनिदिनुस् भनेर भन्छौं, खै किन हो उता लगेपछि मुडेकै आलु भनिदिन्छन् ।’

'It hurts when Shailung potatoes are sold as rotten!'जिल्लाको ३ हजार ३ सयभन्दा बढी हेक्टरमा आलु खेती हुँदै आएको छ । सबैभन्दा बढी शैलुङ गाउँपालिकामा १ हजार ४ सय हेक्टरमा आलु खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ । शैलुङबाट गएको वर्ष ३० करोड रुपैयाँबराबरको बर्खे र बीउ आलु निर्यात भएको थियो । शैलुङमा आलु भित्र्याएसँगै काउली र बन्दाको खेती सुरु हुन्छ । 

यस वर्ष आलु सप्रिएपछि शैलुङ–८ सराङथलीका भक्तबहादुर मगर पनि हर्षित छन् । ‘गएको वर्षभन्दा यो वर्ष आलु सर्पेको छ,’ उनले भने, ‘दाना पनि राम्रो लागेको छ, ठेकेदारले भाउ कति दिन्छ त्यो अझै तय भएको छैन ।’ गएको वर्ष ५० रुपैयाँ केजीसम्म बारीमै भाउ पाएको उनले बताए । शैलुङबाट आलु लगेर 'मुडेको आलु भनेर बेच्दा' भने नरमाइलो लाग्ने उनको पनि कुमारी जस्तै गुनासो छ ।

‘हाम्रो उत्पादनमा हाम्रो ठाउँको नाम हुनपर्ने होइन र ? उत्पादन हुन्छ शैलुङमा नाम भने अर्कै ठाउँको,’ उनले भने, ‘हाम्रो बारीको आलुको पनि पहिचान बनाउने काम कसले गर्ने हो ? ठाउँमा कुरा लगिदिनुस् न ।’

'It hurts when Shailung potatoes are sold as rotten!'शैलुङ आलु उत्पादनको पकेट क्षेत्रका रूपमा विकास भएको छ । यहाँका किसानले पुस–माघमा रोपेको आलु असारबाट खन्न सुरु गर्छन् । हिलाम्मे बाटोका कारण बर्सेनि नोक्सान भोग्दै आएका थिए । बाह्रै महिना चल्ने कालोपत्र र ग्राभेल बाटो बनेकाले शैलुङका किसानले यो वर्षबाट भने त्यस्तो नोक्सानी बेहोर्नुपर्ने छैन । ‘वर्षौँदेखि खराब सडकका कारण नोक्सानी र भाउ नपाउने गरेका थियौँ,’ उनले भने, ‘त्यो टेन्सन दूर भयो, बजार लैजाने मुख्य पिच सडकबाट अब बारीमै गाडी आउँछन् ।’ यो वर्ष ३ लाख रुपैयाँजतिको आलु बजारमा पठाउने तयारी गरेको उनले बताए । 

शैलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानको घरखर्च, चाडबाडदेखि छोराछोरीको पढाइ खर्च आलुमै निर्भर छ । सामान्य किसानले ५० हजारदेखि धेरै जमिनमा आलु लगाउनेले बर्खे आलुबाट १२ लाखसम्म आम्दानी गर्ने गरेका छन् । 

'It hurts when Shailung potatoes are sold as rotten!'शैलुङ–६ चिसापानीका क्षत्रबहादुर श्रेष्ठ भने ठेकेदारलाई आलु बेच्दैनन् । उनी आफैं बजारमै पुगेर भाउ निधो गरेर ढुवानी गरिदिने सोचमा छन् । ‘विगतमा सडक राम्रो छैन भनेर ठेकेदारले हामीलाई भाउ दिएन,’ उनले भने, ‘अब सडक पनि राम्रो छ, आफैं बजारमा लिएर जान्छु ।’ शैलुङको आलुको पहिचान बनाउन पनि आफैं बजारमा लगेर बेच्ने उनले बताए । उनको गुनासो पनि कुमारी र भक्तको जस्तै छ । ‘हामीले उत्पादन गरेको आलु बजारमा अब शैलुङको आलु भनेर बेच्छौँ,’ उनले भने, ‘हाम्रो मेहनत पौरख, नाम अन्तैको अन्याय भएन ? शैलुङको आलुको पहिचान बनाउन अब किसानै जाग्नु पर्छ भनेर अभियान चलाउनुपर्ला ।’

आलुलाई चाहिने मौसम यो वर्ष राम्रै भएकाले दाना राम्रो लागेको उनले बताए । गएको वर्ष ५ लाख जतिको आलु बिक्री गरेको उनले बताए । ‘यो वर्ष ६ लाख जतिको आलु बेचिन्छ कि हेरौँ,’ उनले भने, ‘माटोमुनि छ, हेर्दा राम्रो सप्रेको छ, खनेपछि पत्ता लाग्छ ।’

'It hurts when Shailung potatoes are sold as rotten!'हालको सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका –५ मा पर्ने मुडे बजारको नामबाट आलुलाई तत्कालीन समयमा कृषि विकास कार्यालयले ‘मुडेको आलु’ ब्रान्ड बनाएर बजारमा पठाएको साना किसान तथा कृषि सहकारी संस्था सिलढुङगाका अध्यक्ष मकरबहादुर तामाङले बताए । तर उक्त ब्रान्डको आलु ग्रेडिङ मसिनो भएका कारण हाल ब्रान्ड बनाउन छाडिएको उनले बताए । ‘मुडे पहिलादेखि नै चर्चित भएकाले नाम राखेर बजार पठाएका थियौँ,’ उनले भने, ‘तर बीउ भने शैलुङबाट ल्याउनुपर्छ, त्यस क्षेत्रबाट बजारमा आएको आलु पनि सोही नामले विगतदेखि नै चिनिएको जस्तो लाग्छ ।’

शैलुङ क्षेत्रबाट बजारमा आएको आलु अहिले पनि मुडेकै भनेर बेचिने गरेको उनले बताए । ‘मुडे क्षेत्रमा पनि बर्खे आलु हुन्छ, चैत-वैशाखमा मुडेको बजारमा बेचिने आलु खेतको हो,’ उनले भने, ‘स्थानीयले मुडेको आलु नभने पनि किन्नेहरूमा दिमागमा मुडेको भन्ने ब्रान्ड बसेको छ ।’ लिसंखुपारको ७ वटै वडामा लगाइने आलुको बीउसमेत शैलुङबाट ल्याइने गरेको उनले बताए ।

केदार

Link copied successfully