चीन जोड्ने प्रसारण लाइन बन्दै, भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यात : ऊर्जामन्त्री खड्का

असार १२, २०८२

लक्ष्मी लम्साल

Construction of transmission line connecting China, electricity export to India and Bangladesh: Energy Minister Khadka

बेइजिङ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चीनसँग जोडिने रसुवागढी/चिलिमे–जिलोङ/केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्।

चीनको चच्याङ प्रान्तको निङ्पोमा जारी शाङ्हाई सहयोग संगठन (एससीओ) को पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकमा उनले नेपालको ऊर्जा क्षेत्रका उपलब्धिबारे चर्चा गर्दै चीनसँगको प्रसारण लाइन निर्माण गरिने बताएका हुन्। साथै उनले भारत र बङ्गलादेशसँग विद्युत् व्यापार भइरहेको सुनाए।

बिहीबार ‘उच्च गुणस्तरीय ऊर्जा विकास’ विषयक समानान्तर मञ्चमा बोल्दै मन्त्री खड्काले भने, ‘भारत र बङ्गलादेशसँग विद्युत् निर्यातको सम्झौता भएको छ। चीनसँग रसुवागढी/चिलिमे–जिलोङ/केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको छ।’

भारतसँग १३२ केभी तथा सोभन्दा कम भोल्टेजका प्रसारण लाइनसँगै ४०० केभी ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा रहेको उल्लेख गर्दै मन्त्री खड्काले भारतको बाटो हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यातको ऐतिहासिक सम्झौता भएको जानकारी पनि दिए।

आफ्नो मन्तव्यमा मन्त्री खड्काले ऊर्जा सुरक्षालाई आधुनिक जीवनको आधारभूत आवश्यकता भन्दै क्षेत्रीय सहकार्य, लगानी र नीतिगत नवप्रवर्तनको खाँचो औँल्याए। उनले भने, ‘ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजनजत्तिकै आवश्यक विषय हो।’

नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको दाबी गर्दै मन्त्री खड्काले करिब ९९ प्रतिशत जनतामा विद्युत् पहुँच पुर्‍याएको र ९५ प्रतिशतभन्दा बढी विद्युत् उत्पादन नवीकरणीय ऊर्जाको स्रोतबाट भइरहेको सुनाए।

ऊर्जा क्षेत्रको सुरक्षित, समावेशी र हरित भविष्यका लागि क्षेत्रीय नीतिगत समन्वय, प्रसारण पूर्वाधारमा क्षेत्रीय लगानी तथा साझेदारी, पारदर्शी मूल्य निर्धारण र हरित वित्त प्रणालीद्वारा ऊर्जा बजारको विकास अपरिहार्य रहेकोमा उनले ध्यानाकर्षण गराए।

नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र सोमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खड्काले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन, सबैका लागि स्वच्छ ऊर्जा र विद्युतीय यातायात तथा उद्योग प्रणालीको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच ऊर्जामन्त्री खड्काले ‘इन्टिग्रेट इनोभेसन फर इनर्जी फ्युचर’ विषयक सम्बोधन गर्दै शाङ्हाई सहयोग संगठनका सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्द्धन तथा क्षेत्रीय सहयोगका विविध पक्षहरूमा जोड दिए। उनले नेपालको ऊर्जा उत्पादन क्षमताको उल्लेख गर्दै विद्युत् उत्पादन लक्ष्य र निर्यात लक्ष्यबारे व्याख्या गरे। विद्युत् व्यापारमा नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय सहकार्यको उपलब्धिबारे चर्चा गर्दै मन्त्री खड्काले शाङ्हाई संगठनअन्तर्गतको उपभोक्ता बजार, स्रोत सम्भावनालाई ध्यानमा राखी नवप्रवर्तन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापारका लागि क्षेत्रीय ढाँचा निर्माण गर्नुपर्नेमा जोड दिए। उनले संवाद साझेदारको रूपमा नेपालले संगठनको ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्ने र ऊर्जा क्षेत्रको आपसी सहकार्यमा अग्रसर रहने प्रष्ट पारे।

चीनको राष्ट्रिय ऊर्जा प्रशासन र चच्याङ प्रान्त सरकारको संयुक्त आयोजनामा “नवप्रवर्तन र एकीकरण, गतिशील भविष्य” विषयक संगठनका ऊर्जा मन्त्रीहरूको बैठक भएको हो। सम्बन्धित एससीओ देशका ऊर्जा विभाग प्रमुखहरू, सम्बन्धित प्रतिनिधिहरू र चीनका राजदूतहरूले बैठकमा भाग लिए भने ऊर्जा रूपान्तरण र दिगो विकासलाई प्रवर्द्धन गर्ने विभिन्न देशका गहन सफल अनुभवहरू आदानप्रदान गरे।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार बैठकमा २६ तारिख २५ वटा परियोजनामा हस्ताक्षर भएको छ । यस वर्षको एससीओ शिखर सम्मेलनसँगै आयोजना गरिएको यो नै ऊर्जा क्षेत्रको सबैभन्दा उच्च स्तरको बैठक हो भने सन् २०२५ मा ऊर्जा क्षेत्रमा चीनको सबैभन्दा ठूलो घरेलु कूटनीतिक कार्यक्रमहरूमध्ये एक हो।

लक्ष्मी

Link copied successfully