काठमाडौँ — एमाले केन्द्रीय सचिवालय बैठकले इजरायल र इरान युद्धले त्यस क्षेत्रमा कार्यरत लाखौँ नेपालीको पेसा र जीवन जोखिममा परेको भन्दै उनीहरूको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
केन्द्रीय सचिवालयको बुधबार बैठकले विशेष प्रस्ताव पारित गर्दै शक्ति राष्ट्रहरूलाई शान्ति स्थापनाका लागि योगदान गर्न आग्रह गरेको छ ।
‘इरान र इजरायलबीच गएको दुई साता चलेको युद्धले समग्र खाडी क्षेत्रको शान्तिमा चुनौती खडा गरेको छ । यो बैठकले इरान र इजरायल दुवैलाई युद्ध विरामको इमान्दारीपूर्ण पालना गर्न, तनावपूर्ण कुनै पनि काम नगर्न, युद्ध विरामलाई स्थायी रूपमा युद्धको अन्त्य गर्न आह्वान गर्दछ । शक्ति राष्ट्रलाई युद्धमा सहभागी नहुन, युद्ध नचर्काउन, विश्व शान्तिको लागि पहल गर्न ध्यानाकर्षण गर्दछ’ एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘बढ्दो तनावले खाडी क्षेत्रमा कार्यरत १२ लाखभन्दा बढी र इजरायलमा कार्यरत ५ हजार नेपाली जीवन र पेसागत सुरक्षामा जोखिम पैदा गरेको छ । उनीहरूको सुरक्षाका लागि प्रभावकारी कूटनीतिक पहल सरकारको ध्यानाकर्षण गराउँदछ ।’
