चितवन — पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपालमा राजनीतिक परिवर्तनसँगै पूर्वाधार लगायतका क्षेत्रमा प्रगति भएपनि मान्छे सन्तुष्ट नहुनुको कारण खोज्नुपर्ने बताएका छन् ।
बुधबार भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले भने, ‘मान्छे सन्तुष्टि नै छैन । हिजो के थियो देखेकै छैन उसले। जेन जी पुस्ता भन्छौं हामी । उसको दोष हैन, सरकारले यो नयाँ पुस्तालाई न इतिहास पढाउँछ न भूगोल ।
सडक सञ्जाल देशभर विस्तार भएको, दुई दशकमा सञ्चार सेवामा क्रान्ति भएको र स्वास्थ्य शिक्षाको विस्तार पनि राम्रो भएको उनले बताए । ‘तर गुणस्तरीय सेवा र सर्वसाधरणलाई विश्वासमा लिन अझै आवश्यक छ,’ पूर्वराष्ट्रपति यादवले भने । कोभिडले पिरोलेको त्यसअघि भूकम्पले दु:ख दिएको देशमा जनताले नै चुनेका प्रतिनिधिले संविधान बनाएर जनतालाई देशको मालिक बनाएको तथ्य बिर्सन नहुने उनले बताए ।
‘आज स्थानीय तहमा १२/१३ हजार जना दलित, मधेशी, आदिवासी, महिला, जनजाति, मुस्लिम अल्पसंख्यकहरु चुनिएको अवस्था छ । पछिल्लो १७ वर्षमा लोकसेवाबाट २५ हजार २१८ जना दलित, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग रोजगारीमा आएको छ । देश सबैको हो भन्ने भावना बढेको छ,’ पूर्व राष्ट्रपति यादवले भने । १० वर्षको सशस्त्र संघर्षलाई विराम लगाउँदै देश अगाडि बढेको उनले बताए ।
‘हामी अफ्ठ्यारो अवस्थाबाट गुज्रिँदै यहाँसम्म आएको हो । देशमा धेरै कुरा भएको छ । म नेगेटिभ भन्दिनँ, म आफैंले भोगेको छु, म पोजेटिभ छु । हिजो भारत लथालिङ्ग थियो, चीन त्यस्तै थियो । अहिले अगाडि आए । हामी पनि अगाडि बढ्दै छौँ । रोम पनि एक दिनमा बनेन,’ उनले भने ।
उनले नयाँ नेपालमा सबैको अधिकार बराबर भएको र ‘डेमोक्रेसी’लाई राख्दै हाम्रा संरचनाहरुलाई कसरी सवल बनाउने भन्ने ज्ञान सरकार र राजनीतिक नेतृत्वलाई हुनुपर्ने बताए ।
