काठमाडौँ — प्रमुख प्रतिपक्षी माओवादीका उपमहासचिव तथा सांसद वर्षमान पुनले सरकारले भिजिट भिसा प्रकरण र त्रिभुवन विमानस्थल अध्यागमनको छानबिन गर्न गठित उच्चस्तरीय छानिबन तथा अध्ययन समितिको निगरानी गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा पुनले भिजिट भिसासम्बन्धी देखिएका समस्या अध्ययन तथा छानबिन निष्पक्ष, पारदर्शी, प्रमाण र तथ्य संगत होस् भन्ने अपेक्षा रहेको बताए । उनले उक्त प्रकरणहरूमा ट्राभल एजेन्सी, म्यानपावर, एयरलाइन्सदेखि कुटनीतिक नियोगका पदाधिकारीसमेत जोडिएको सार्वजनिक भइसकेको बताउँदै त्यसको छानबिनलाई निगरानी गरिने बताए ।
'यस्ता प्रकरणमा ट्राभल एजेन्सी, म्यानपावर, एयरलाइन्स, कैयौँ सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय नियोग त्यसमा रहेका पदाधिकारी पनि संलग्न छन् भन्ने मिडियामा आएको छ । यी सबै कुराको उच्चस्तरीय छानबिन समिति अध्ययन र छानबिन गर्नेछ,' उनले भने, 'राज्यका निकायमा देखिएका समस्या, विगतदेखि वर्तमानसम्म के हुन् ? कसरी हुन् ? कहाँनिर यो ग्रे एरिया छ, जसले गर्दा विभिन्न अपराधहरू हुने गरेका छन्, यो कुरामा सत्य तथ्य ढंगले अध्ययन गरोस्, छानबिन गरोस्, जनताको भावनाअनुसार सुझाव तथा प्रतिवेदन प्रस्तुत गरोस्, हाम्रो अपेक्षा छ । यसमा गम्भीर ढंगले छानबिन भएन र अविश्वासहरू पैदा भए निश्चय पनि सार्वजनिक रूपमा जनताले निगरानी गरिरहेको छ । आलोचना हुन्छ । प्रमुख प्रतिपक्षी दलको तर्फबाट पनि निगरानी, खबरदारी गरिराख्नेछौँ ।'
पुनले भिजिट भिसासम्बन्धी देखिएका समस्याहरू अध्ययन र छानबिन अख्तियारले पनि गरिरहेको उल्लेख गर्दै ती छानबिनहरू निष्पक्ष, पारदर्शी हुनुपर्ने बताए ।
पुनले माओवादीको मागअनुसार सरकारले छानबिन र अध्ययन समिति गठन गरेको बताउँदै भने, 'लोकतन्त्रलाई थप सुदृढ बनाउन यसमा देखिएका समस्यालाई समयानुकुल सुधार गर्दै जानुपर्छ, व्यवस्था वा प्रणालीमा देखिएका समस्या जनाभावनाअनुसार सुधार गर्दै लैजानुपर्छ ।'
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको मंगलबारको बैठकमा पूर्वमुख्यसचिव शंकरदास वैरागिको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको जानकारी दिएका थिए । समिति सदस्यमा सहसचिव तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र), प्रदीप कोइराला (श्रम, रोजागार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका पनि मन्त्री लेखकले जानकारी दिए ।
