दाउन्नेको जाम खुलाउन यातायात मन्त्रीसहितको बैठक पनि असफल 

असार १०, २०८२

नारायण शर्मा

The meeting with the transport minister to open the traffic jam also failed

नवलपरासी — दाउन्नेको जाम खुलाउन भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको कार्यकक्षमा सम्पन्न सरोकारवालाको बैठक पनि निष्कर्षविहीन बनेको छ ।

मन्त्रीको कार्यकक्षमा मंगलबार सम्पन्न बैठकले दाउन्ने सडक ठप्प हुन नदिन दैनिक रूपमा दुम्कीबास, सर्दी, होङ्सी सिमेन्ट गेटकै साँघुरो बाटोबाट यातायात संचालन गर्दै जाने निर्णय गरेको हो । 

गत नौ दिनदेखि यही रुटमा यातायात संचालन गर्दा दाउन्ने ठप्प छ । राजमार्गमा भैरहेको जाम खुलाउन वैकल्पिक निर्णय नगरी अहिलेकै अवस्थाको निर्णय दोहोर्‍याउनाले निकास पाउन वा राजमार्ग खुल्ने छाँटकाँट नदेखिएको हो । 

मंगलबा‍रको बैठकले अन्य उपाय अवलम्बन गर्ने , सडक चाँडो फराकिलो पार्न चिनियाँ ठेकेदारलाई घच्घच्याउने लगायतका निर्णय नगरी हाल जाम भैरहेको भित्री सडक नै संचालन गर्ने निर्णय गरेको छ । यो निर्णय अनुसार त्यो रुटमा गाडी संचालन हुँदा दाउन्नेको जाम घट्दैन, बरु बढ्छ । किनभने यो भित्री सडक महेन्द्रराजमार्गको दुम्कीबाससँग जोडिएको साँघुरो सडक हो, यहाँ साना गाडी पनि दुईतर्फी संचालन हुन सक्दैनन् । 

बैठकले यो रुटवाट यातयात संचालन गर्दा सडक भत्किए वा बिग्रियो भने सडक विभाग, सडक बोर्डमार्फत मर्मतको रकम व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्री , सचिव, महानिर्देशक, आयोजना प्रमुखसमेत सहभागी बैठकले कति रकम कहिलेसम्म व्यवस्थापन गर्ने भन्ने ठोस निर्णय भने गर्न सकेको छैन । 

विनयी खोलामा नवनिर्मित पुल यथाशक्य चाँडो सूचारु गर्न पहल गर्ने भनिएको छ । यो राजमार्गमा ऋण लगानी गरेको एसियाली विकास बैंकअन्तर्गत सडक हेर्ने योजना निर्देशनालयका निर्देशक चूडाराज ढकालले यथाशक्य चाँडो भनेको कहिले भन्ने कान्तिपुरको प्रश्नमा जवाफ दिन चाहेनन् । उनले यति मात्रै भने, 'राजमार्ग खुलाउन मन्त्रीज्यू चिन्तित हुनुहुन्छ ।' 

पुल निर्माणको काम गर्ने चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाताले असार २६ गते खोल्न सक्ने जानकारी दिएको तर आफूहरूले चाँडो खोलिदिन आग्रह गरेको भने ढकालले सुनाए । ठेकेदारको भनाइ अनुसार पुलमा यातायात संचालन गर्न अझै १६ दिन कुर्नु पर्छ  ।

मंगलबार यातायात मन्त्री दाहालको रोहबरमा सम्पन्न बैठकमा जुटाइएको सहमतिका बुँदामा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनप्रसाद अर्याल, आयोजना निर्देशक चूडाराज ढकालले हस्ताक्षर गरेका छन् ।

बैठकको अध्यक्षता दुम्कीवास र दाउन्ने सडक क्षेत्रमा पर्ने यहाँको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गरेका थिए । मन्त्रीको कार्यकक्षमा सम्पन्न बैठक भए पनि लिखित कागजमा भने मन्त्रीले हस्ताक्षर नगरेर मातहतका कर्मचारी र सडक बिग्रिएको विनयी त्रिवेणीका गाउँपालिका अध्यक्षलाई हस्ताक्षर गर्न लगाइएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully