काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा राखिएको 'टेक एन्ड पे'को प्रावधानले नराम्रो गर्ला कि जस्तो भएपछि हटाउनुपरेको बताएका छन् ।
विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले 'टेक एन्ड पे'बारे उक्त जवाफ दिएका हुन् ।
सांसदले 'टेक एन्ड पे' किन ल्याएको र किन हटाएको ? भनेर प्रश्न गरेका थिए । सांसदले त्यसरी नै बजेटका व्यवस्था हटाउने हो भने बजेट संशोधन गर्न नै प्रधानमन्त्री अगाडि सर्नुपर्ने प्रस्ताव राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, 'टेक एन्ड पे राम्रो गर्नका लागि ल्याइएको थियो । नराम्रो गर्ला कि जस्तो भयो हटाइयो ।'
प्रधानमन्त्री ओली र सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाबीच बजेटमा राखिएको ‘लेऊ र तिर’ (टेक एन्ड पे) विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) को प्रावधान हटाउने सम्बन्धमा सोमबार सहमति भएको थियो ।
‘टेक एन्ड पे’ मा पीपीए हुँदा प्राधिकरणले आफूलाई आवश्यक परिमाण खरिद गरेर त्यसको मात्र पैसा तिर्छ । ‘टेक अर पे’ मा पीपीए हुँदा प्राधिकरणले प्रवर्द्धकसँग गरिएको सम्झौताअनुसार बिजुली लिनुपर्छ, नलिए त्यसबापतको मूल्य प्रवर्द्धकलाई तिर्नुपर्छ ।
सम्झौताअनुसार बिजुली दिन नसके प्रवर्द्धकले प्राधिकरणलाई जरिवानासमेत तिर्नुपर्छ । प्राधिकरणले ‘टेक अर पे’ मा पीपीए गर्दै आएको छ । जलविद्युत् आयोजना निर्माण सकिने तर नयाँ प्रसारण लाइन पूरा नभएको वा प्रसारण लाइनको क्षमता कम भएको अवस्थामा प्राधिकरणले ‘टेक अर पे’ का आधारमा गरिएका पीपीएलाई समयसीमा तोकेर ‘टेक एन्ड पे’ का आधारमा बिजुली लिने र भुक्तानी गर्ने गरेको छ । देउवाले प्रधानमन्त्री ओलीलाई ‘टेक एन्ड पे’ को प्रावधान हटाउन दबाब दिएका थिए ।
