एक्जिट अनुमति नहुँदा सात नेपालीलाई इरानको विमानस्थलबाट फर्काइयो

असार १०, २०८२

होम कार्की

Seven Nepalis were turned away from Iran airport due to lack of exit permit

काठमाडौँ — इरानको मसहदस्थित अन्तर्राष्ट्रिष्ट्रिय विमानस्थलको अध्यागमन प्रशासनले एक्जिट परमिट (इरान छोड्न चाहिने अनुमति पत्र) नभएको भन्दै ७ जना नेपालीलाई फर्काइएको छ । दुई जना नेपालीको मात्रै उद्धार गरिएको छ । उनीहरुलाई दिल्ली हुँदै काठमाडौं पठाइएको छ ।

भारतीय दूतावासले ९ जना नेपालीलाई मंगलबार दिउँसोको उडान टिकट दिएर मसहद विमानस्थलमा पठाएको थियो । विमानस्थलको अध्यागमनले एक्जिट परमिट भएका बुटवलका सुमन गैरे र गणेश पोखरेललाई स्वदेश फिर्न अनुमति दिएको हो । दिल्लीस्थित नेपाली दूतावासले गैरे र पोखरेललाई उद्धार उडानबाट रिसिभ गरी काठमाडौं पठाएको छ ।    

‘सुमन गैरे र गणेश पोखरेल जानुभयो । हामीलाई विमानस्थलमा एक्जिट परमिट बिना जान पाइँदैन भनेर फर्कायो,’ बुटवलका विष्णुप्रसाद भुसालले भने, ‘हामी भोलिको लागि एक्जिट परमिट निकाल्ने कोसिस गरिरहेका छौं । भोलि एक्जिट निस्कियो भने भोलि साँझको उडानमा आइन्छ ।’

एक्जिट परमिट नपाउनेमा उयदपुरकी गायत्री कार्की थापा, उनका छोरा उत्सव थापा, विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, यज्ञ मरासिनी र राजु खनाल छन् ।

भारतीय दूतावासमा कार्यरत हरि थापालाई दूतावासले ड्युटीमै खटाएको छ भने विष्णुप्रसाद बन्जाडेसँग राहदानी नभएकोले रोकिएका छन् । भुसालले बुधबार एक्जिट परमिट नपाएको खण्डमा तेहरान फर्किने बताए । भारतीय दूतावासले उद्धार गर्ने भएपछि ११ जना नेपाली बसमार्फत झन्डै ९ सय किलोमिटर टाढा रहेको मसहदमा आइतबार पुगेका थिए ।

‘एक्जिट परमिट नपाएको खण्डमा तेहरान फर्किने छौँ । त्यहाँबाट एक्जिट लगाएर नियमित उडानमा आइन्छ जस्तो छ । अझै निश्चित केही छैन । भोलि कति जना जान्छौं थाहा छैन,’ उनले भने, ‘सबै स्वदेश फिर्न त गार्‍हो गार्‍हो छ । यहाँको जनजीवन पनि सामान्य छ । आत्तिनुपर्ने अवस्था छैन । सामान्य भयो भने तेहराइन पुगेर आइन्छ । हामी यही होटलमै बसिरहेका छौं ।’

उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा कार्यरत थिए । कतारको दोहास्थित नेपाली दूतावासले यी नेपालीसँग समन्वय भइरहेको जनाएको छ । तेहरानको जेलमा रहेका ५ नेपालीको उद्धारका लागि पनि प्रक्रिया थालिएको दूतावासले जनाएको छ  ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully