इरान र इजरायलबाट नेपालीको उद्धार सुरु

तेहरानमा रहेका ११ नेपाली मंगलबार दिल्ली आइपुग्ने

असार १०, २०८२

होम कार्की

Rescue of Nepalis from Iran and Israel started

काठमाडौँ — सरकारले युद्धग्रस्त इरान र इजरायलबाट नेपाली श्रमिकको उद्धार सुरु गरेको छ । सरकारले भारत सरकारसँग समन्वय गरेर तेहरानमा रहेका ११ नेपाली श्रमिकलाई आइतबार राति इरानकै अर्को सहर मसहद पुर्‍याएको हो । 

तेहरानस्थित भारतीय दूतावासले उपलब्ध गराएको बसबाट झन्डै ९ सय किलोमिटर टाढाको मसहद पुगेका उनीहरूलाई भारत सरकारले चार्टर्ड गरेको विमानमार्फत मंगलबार दिल्ली ल्याउने तयारी छ । ‘११ जना सुरक्षित रूपमा मसहद आइपुगेका छौं । बाटोमा 

अप्ठ्यारो झेल्नु परेन । अहिले होटलमा बसेका छौं,’ उदयपुरका हरि थापाले भने, ‘भारतले प्राथमिकतामा राखेर पठाउने आश्वासन दिएको छ । उडानको प्रतीक्षामा छौं ।’ 

मसहद पुग्नेमा थापा, उनकी श्रीमती गायत्री कार्की थापा, छोरा उत्सव, बुटवलका विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल छन् । राहदानी नभएकाले बन्जाडेको उडान तत्काल नहुने भएको छ । उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा कार्यरत थिए । कतारको दोहास्थित नेपाली दूतावासले यी नेपालीसँग समन्वय भइरहेको जनाएको छ । तेहरानको जेलमा रहेका ५ नेपालीको उद्धारका लागि पनि प्रक्रिया थालिएको दूतावासले जनाएको छ ।

इजरायलमा रहेका नेपालीको पनि उद्धार सुरु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा झन्डै ५५ सय नेपाली कार्यरत छन् । इजरायल–इरान युद्ध सुरु भएपछि त्यहाँ रहेका नेपाली सुरक्षित स्थान खोज्दै बसिरहेका छन् । तीमध्ये केहीले नेपाल फर्कन चाहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा रहेका ९ सय १८ जनाले नेपाल फर्कन भन्दै फारामसमेत भरेका छन् । 

परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले इजरायलबाट उद्धार चाहने नेपालीका लागि सम्भव भएसम्म सबै तयारी भइरहेको बताए । ‘फाराम दर्ता गरेकामध्ये ३५ जनाले नेपाल फर्कने चासो राखेका छन्,’ उनले भने, ‘परराष्ट्रमा २४ सै घण्टा सेवा प्रदान गर्ने गरी र्‍यापिड रेस्पोन्स टिम छ । यसले घटनालाई नजिकबाट नियालिरहेको छ ।’ 

गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायल–इरान युद्ध सुरु भएयता अधिकांश नेपाली श्रमिक सुरक्षा सामुदायिक बंकरमा बस्न थालेको बताए । ‘तेलअविवलगायत विभिन्न स्थानमा ठुल्ठूला सामुदायिक बंकर छन्, जसमा धेरै जना अटाउँछन् । अहिले अधिकांश नेपाली आवासीय भवनमुनिको बंकर छोडेर सामुदायिक बंकरमा बस्न थालेका छन् । अहिले सरकारलाई उद्धारका लागि दबाब त परेको छ । तर, यहाँबाट तुरुन्तै जाने नेपाली कम छन्,’ उनले भने । इजरायलमा रहेका एक नेपालीलाई स्थलमार्ग हुँदै इजिप्ट पुर्‍याइएको छ । इजिप्टका लागि नेपाली दूतावासका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. प्रनित पोखरेललाई सोमबार इजरायलबाट उद्धार गरेर इजिप्ट पुर्‍याइएको हो । यसका लागि इजरायल र इजिप्टस्थित नेपाली दूतावासले इजरायल र इजिप्ट सरकारसँग समन्वय गरेका थिए । 

 छोटो समयका लागि अध्ययन गर्न तेलअविव पुगेका पोखरेललाई लिन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल इजरायल र इजिप्टको इलात–तावा नाकामा पुगेका थिए । यो नाका इजिप्टको राजधानी कायरोबाट करिब ४ सय २० किमि टाढा छ । ‘बिहान ७ः३० बजे तेलअविवबाट बसमा यात्रा गरेको हो । त्यहाँबाट इजिप्टको बोर्डरमा आउन ५ घण्टा लाग्यो । सीमा पार गर्न एक घण्टा लाग्यो,’ डा. पोखरेलले कान्तिपुरलाई भने, ‘दूतावासको समन्वयले इजिप्टको सीमा पार गर्न समस्या भएन ।’

इजिप्टतर्फ प्रवेश गर्ने नाकाबाट करिब २ सय ३० किमिको दूरीमा सर्म अलि शेख सहर छ । पोखरेललाई सोही सहरको अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार काठमाडौं पठाइने राजदूत लम्सालले जानकारी दिए । ‘इजरायलबाट नेपाल सरकारले गरेको यो पहिलो उद्धार हो । यसले हामीलाई इजरायलबाट आउने नेपालीलाई उद्धारमा सहजीकरण गर्न सक्ने बाटो खोलेको छ,’ राजदूत लम्सालले भने, ‘जो नेपाली उद्धार चाहनुहुन्छ, हामीलाई पूर्वजानकारी हुनुपर्छ ।’ 

राजदूत लम्सालले इजरायलबाट उद्धार चाहने नेपालीलाई स्थलमार्ग हुँदै प्रवेश दिन इजिप्ट र जोर्डन सरकार सहमत रहेको बताए । इजिप्टमा रहेको नेपाली दूतावासले जोर्डन मामिलासमेत हेर्ने जिम्मेवारी पाएको छ । ‘इजरायलमा रहेका नेपालीले जोर्डन र इजिप्टको सीमाबाट प्रवेश पाउन सम्भव छ । हामीले सबै प्रबन्ध मिलाइसकेका छौं,’ उनले भने, ‘सिधै नाकामा जान मिल्दैन । पहिले इजरायल छोड्न चाहने नेपालीले सरकारलाई आफ्नो पूरा विवरण दिनुपर्छ । हामीले त्यो विवरणसहितको सूची सम्बन्धित देशलाई पठाउँछौं । त्यहाँबाट अनुमति आएपछि बल्ल तोकिएको नाकामा जानुपर्छ ।’ 

इजरायलबाट बाहिरिने विदेशी नागरिकका लागि जोर्डनको सेस हुसेन ब्रिज र वादी अरवा बोर्डर खुला गरिएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी वादी अरवाको नाका हुँदै जोर्डन प्रवेश गरिरहेका छन् । इजिप्टतर्फ भने इलात–तावा नाका खुला गरिएको छ । राजदूत लम्सालको टोली इजिप्टको सीमाबिन्दु इलात–तावा नाकाबाट बाहिरिने नेपालीको व्यवस्थापन गर्न सर्म अलि शेख सहरमा खटिएको छ । ‘यो सम्भावित उद्धारका लागि पूर्वतयारी हो,’ लम्सालले भने, ‘यस्तै तयारी जोर्डनमा पनि भइरहेको छ ।’ 

परराष्ट्र मन्त्रालय नेतृत्वको र्‍यापिड रेस्पोन्स टिममा श्रम, कानुन, पर्यटन र गृह मन्त्रालयका सहसचिव छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलसहित पश्चिम एसियामा रहेका नेपाली श्रमिकको स्थानलगायत विवरण संकलन गर्न श्रम संसार पोर्टलसमेत सञ्चालनमा ल्याएको छ । पोर्टलको मोबाइल एप्लिकेसन केही दिनभित्रै सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । 

श्रममन्त्री शरतसिंह भण्डारीले पश्चिम एसिया (खाडी क्षेत्र) मा कार्यरत नेपाली कामदारको उद्धारका लागि नेपाल र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखिएको बताए । ‘नेपालीलाई उद्धार गर्नुपरेमा इजरायलले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘इजरायलमा काम गर्ने नेपालीले सहयोग माग्नासाथ सरकारले उद्धार अप्रेसन थाल्नेछ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully