काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसलगत्तै सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका थिए।
त्यसपछि दुवै पार्टीका सांसदहरू आ–आफ्नो स्थानमा आसनग्रहण गरी सभा सञ्चालनको वातावरण बनाएका थिए।
गृहमन्त्री लेखकले समय माग गर्दै संसद्मा सांसदहरूले उठाएका विभिन्न विषयबारे जवाफ दिएका छन्। आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्रीलगायत विभिन्न विषयगत मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
विनियोजन विधेयक, २०८२ अन्तर्गत आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
सरकारतर्फबाट प्रधानमन्त्री र मन्त्रीहरूको जवाफपछि विनियोजन विधेयक, २०८२ का दफाहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। साथै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।
