काठमाडौँ — सरकारले दक्ष र अर्धदक्ष श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत तवरबाट पठाउने तयारी सुरु गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो जानकारी गराएका हुन् । उनले जुलाईदेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया सुरु गएको बताए ।
मन्त्री भण्डारीले भने, 'वैदेशिक रोजगार नीतिअनुसार दक्ष र सिपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ ।'
उनले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न कडा कारबाही गरिने पनि बताए । वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी मन्त्रालयको ठूलो चिन्ताको विषय बताउँदै उनले उजुरी परेको खण्डमा सरकारको अनुसन्धान संयन्त्रले कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
