प्रकाशित र प्रसारित गरिएको समाचार सामग्री जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्न आदेश
काठमाडौँ — विशेष अदालतको सबै न्यायाधीश सम्मिलित ‘विशेष इजलास’ ले दृष्टि साप्ताहिकका प्रकाशक तथा सम्पादकविरुद्ध दायर अवहेलना मुद्दालाई फौजदारी लागतमा राख्न निर्देशन दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला सम्मिलित ६ जनाको मंगलबार बसेको इजलासले उक्त पत्रिकाका प्रकाशक शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुम्बा र संवाददातालाई तीन दिनभित्र इजलासमा आफैं उपस्थित हुन आदेश पनि दिएको छ ।
विशेष अदालतमा भएका सबै न्यायाधीश सम्मिलित ६ जनाको इजलास यो पहिलो घटना हो ।‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ भन्दै गत आइतबार गत दृष्टिले समाचार लेखेको थियो । आधारहिन तवरले समाचार लेखी अदालतको अवहेलना गरेको भन्दै दृष्टि साप्ताहिक, त्यसका प्रकाशक, सम्पादक र संवाददाताविरुद्ध अदालत प्रशासनले मुद्दा दायर गरेको थियो ।
त्यसमाथि सुनुवाइ गर्दै विशेषमा भएका दुई इजलासका ६ न्यायाधीश नै सम्मिलित इजलासले उक्त मुद्दालाई फौजदारी लागतमा राख्न आदेश गरेको हो । अवहेलनाको मुद्दा फौजदारी लगतमा राखिए त्यसबापत हुने दण्ड फौजदारी प्रकृतिको हुन्छ जसबापत जेलको सजाय गर्ने सुविधा अदालतलाई हुन्छ । तीन दिनभित्र इजलासमा आउने आदेशका साथै अदालतले ‘प्रकाशित र प्रसारित गरिएको समाचार सामग्री जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्नू’ भनेर पनि आदेश गरेको छ ।
‘निवेदन/प्रतिवेदन मागबमोजिम यस अदालतको अवहेलनामा किन कारबाही र सजाय हुनु नपर्ने हो ?,’ विशेषले आदेशमा भनेको छ, ‘यस अदालतको अवहेलनामा कारबाही र सजाय हुनु नपर्ने भए सोको आधार कारण र प्रमाणसहित यो आदेश र समाह्वान म्याद प्राप्त भएको मितिबाट बाटोको म्यादबाहेक तीन दिनभित्र र सो म्याद थाम्न थमाउन समेत नपाउने गरी दृष्टि मिडिया प्रालिको हकमा कानुन बमोजिमको प्रतिनिधि र विपक्षीहरू शम्भुलाल श्रेष्ठ, एमपी सुब्बा तथा सम्बन्धित समाचारको संवाददाताको हकमा आफैं यस अदालतसमक्ष बयान गर्न उपस्थित हुनू ।’
