भिजिट भिसा र अध्यागमनमा सुनपानी छर्कने समिति : वाग्ले

'समितिका संयोजक शंकरदास वैरागी १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र हुन्'

असार १०, २०८२

कान्तिपुर संवाददाता

Committee to sprinkle gold on visit visas and immigration: Wagle

काठमाडौँ — रास्वपा सांसद स्वर्णिम वाग्लेले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि सरकारले बनाएको उच्चस्तरीय समिति सुनपानी छर्कने समिति भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले यो अलोकप्रिय सरकारले यस्तै निर्णय गर्ला भन्ने आफूहरुलाई पूर्वाभास भएको बताए । भिजिट भिसा प्रकरण गम्भीर कुशासन, संगठित भ्रष्टाचार र मानव तस्करीका रुपमा रहेको उनको भनाइ थियो ।

समितिका संयोजक शंकरदास वैरागी १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र भएको उनले आरोप लगाए । 'उहाँ अहिलेका नेताहरुबाट निगाहाप्राप्त स्वार्थप्रेरित व्यक्ति हो । उहाँ स्वयं सक्षम निकायको रडारमा भएका व्यक्ति भएपछि कसको छानबिन गर्ने  ?' वाग्लेले प्रश्न गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिएको पनि उनले बताए । मेरो प्रस्तावमा छानबिन समिति बनेको भन्ने गृहमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै उनले भने, 'हामी नयाँ हौं तर बेवकूफ होइनौं ।'

कान्तिपुर संवाददाता

Link copied successfully