काठमाडौँ — सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत, गण्डकीमा माओवादी सांसदले च्याते बजेट पुस्तिका, कर्णाली प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, दमास्कसको चर्चमा आत्मघाती बम विस्फोट, प्रार्थना गरिरहेका १९ जनाको मृत्यु लगायतका खबर आज दिनभर चर्चामा रहे । आज दिनभर देश दुनियाँमा के के भयो त ?
जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकले सरकार पूर्णत: असफल रहेको निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन बारे पुनः विचार गर्ने निर्णय गरेको हो। पार्टीले त्यसबारे आवश्यक निर्णय लिने संसदीय दललाई निर्देशन गरेको छ ।
ooo
गण्डकी प्रदेशका माओवादी सांसदले बजेट वितरणमा असन्तुष्टि जनाउँदै सरकारले ल्याएको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम पुस्तिका संसद्को रोष्ट्रममै च्यातेका छन् । पूर्व भौतिकमन्त्रीसमेत रहेका सांसद रेशमबहादुर जुग्जालीले सोमबारको प्रदेश सभाको बैठकको मन्त्रालयगत छलफलमा भाग लिने क्रममा पुस्तिका च्यातेका हुन् ।
ooo
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैङ्क दाखिला नगरी अनधिकृत रुपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाहीविरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको छ ।
ooo
सिरियाको राजधानी दमास्कसमा आइतबारको प्रार्थनाको समयमा एक आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । साथै दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ । सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन् ।
ooo
दस खेलाडीमा सीमित रियल म्याड्रिडले सोमबार क्लब वर्ल्डकपमा मेक्सिकोको पाचुकालाई ३–१ ले पराजित गरेको छ र यस नतिजासँगै टिम नकआउट चरणतर्फ अग्रसर भएको छ । समूह ‘ए’ मा यो जितपछि रियलको चार अंक भएको छ र शीर्षमा छ ।
