एमालेमा उकुसमुकुसबीच भण्डारीको पुनरागमन तयारी

दुईपटक राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारी मदन जयन्तीका अवसरमा आगामी शनिबार सक्रिय राजनीतिमा फर्कने घोषणाको तयारीमा, दुई कार्यकाल एमाले अध्यक्ष र चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली ‘पार्टी र नेतृत्वप्रति चौतर्फी घेराबन्दी’ भएको भन्दै प्रतिवादको मनस्थितिमा

असार ९, २०८२

गंगा बीसी

Preparations for Bhandari's comeback among Ukusmukus in UML

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको संगठित सदस्यता नवीकरण गरी राजनीतिक सक्रियता बढाएपछि एमालेमा यसबारे विभिन्न कोणबाट व्याख्या र बहस सुरु भएको छ । कतिपयले उनको सक्रियतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धीका रूपमा अर्थ्याएका छन् भने कतिपयले वाम एकताको अभ्यासको नयाँ प्रस्थानबिन्दुका रूपमा बताएका छन् ।

दुई पटक राष्ट्रपति भइसकेकी भण्डारी र दुई कार्यकाल अध्यक्ष भइसकेका ओली एमालेको भावी नेतृत्वका लागि आकांक्षी देखिएपछि दुईबीच प्रतिस्पर्धा सतहमा देखिन थालेको हो । यसबीचमा ओलीले सार्वजनिक मञ्चबाटै भण्डारीको नाम नलिई ‘महाधिवेशन घोषणा नै नभई फलाना आउने रे’ भन्दै कटाक्ष गरेका थिए । भण्डारीले ‘आफू देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहन नपर्ने’ भन्दै प्रतिवाद गरेकी थिइन् ।

उनीहरूको अभिव्यक्तिले एमाले तरंगित भइरहेका बेला दुवै नेताबीच संवाद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गत मंगलबार राति दुई नेताबीच करिब दुई घण्टा भेटवार्ता भएको हो । स्रोतका अनुसार भण्डारीले आफू सक्रिय राजनीतिमा आउने स्पष्ट संकेत ओलीलाई दिएकी थिइन् । त्यसबारे ओलीले स्पष्ट जवाफ नदिई ‘पार्टी र नेतृत्वप्रति चौतर्फी घेराबन्दी’ भएको भन्दै प्रतिवाद गर्न आवश्यक भएको बताएका थिए । यसअघि गत पुसमा भण्डारी निवास बूढानीलकण्ठमा दुई नेताबीच कुराकानी भएको थियो । 

भण्डारीको राजनीतिक सक्रियता बढेपछि दुवैबीच आगामी ‘सहकार्य’ का लागि संवादको ढोका खुलेको एमाले नेताहरूको बुझाइ छ । ‘सके सहमतिमा भएन भने नेतृत्व लिन प्रतिस्पर्धा गर्ने मनस्थितिमा पूर्वराष्ट्रपति पुगेको जानकारी पाएका छौं,’ पार्टीभित्र भण्डारी पक्षधर एक नेताले भने, ‘अहिले अध्यक्ष ओलीसँग भएको संवाद त्यसकै लागि हो ।’

यस्तै, मदन भण्डारी फाउन्डेसनले असार १४ मा आयोजना गर्ने पूर्वमहासचिव मदन भण्डारीको जन्मजयन्तीमा पूर्वराष्ट्रपति एवं मदनपत्नी भण्डारीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने तयारी छ । यसअघि प्रधानमन्त्री ओली प्रमुख अतिथि हुने गरे पनि यसपटक उक्त समयमा उनी स्पेन भ्रमणमा जाने कार्यतालिका छ । भण्डारीले उक्त कार्यक्रममा आफू सक्रिय राजनीतिमा आउने घोषणा तयारी गरेको उनीनिकट नेताहरूको दाबी छ ।

देशभित्र मात्र होइन, विदेशमा पनि भण्डारीले एमाले नेताको हैसियतले सम्बन्ध विस्तार गर्न थालेपछि ओली झस्किएका हुन् । जेठको दोस्रो साता चीन भ्रमण गर्दा भण्डारी एमाले नेताकै रूपमा प्रस्तुत भएकी थिइन् । भण्डारीको राजनीतिक सक्रियतामा एमालेकै नेताहरूको हात रहेको ओलीको बुझाइ छ । त्यसैले उनले सार्वजनिक कार्यक्रममा पार्टीभित्र गुटबन्दी बढ्दै गएको भन्न थालेका छन् । 

अर्कोतर्फ भण्डारीले पोखरा, विराटनगर, भैरहवालगायत सहरको भ्रमणका क्रममा नेता तथा कार्यकर्तासँग व्यापक छलफल गरेकी छन् । उनलाई सक्रिय राजनीतिमा आउन सुझाव सल्लाह दिँदै आएका नेताहरूले पार्टीको पदाधिकारीमा ७० वर्षे उमेर हद लागू गर्नुपर्ने वा कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने प्रावधानमा लबिइङ गर्दै आएका छन् । 

यी दुवै प्रावधान लागू भए ओली अध्यक्ष बन्न पाउने छैनन् । दुई कार्यकाल अध्यक्ष भइसकेका उनी ७० वर्ष पनि कटिसकेका छन् । २०१८ सालमा जन्मिएकी भण्डारी भने ६४ वर्ष मात्र पुगेकी छन् । उमेर हद र दुई कार्यकाल लागू गर्नुपर्ने पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायत पदाधिकारी छन् ।

महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमालचाहिँ कार्यकाल र उमेर हदभन्दा विचार र नेतृत्वको आवश्यकता महत्त्वपूर्ण हुने भन्दै दुवै प्रावधान लागू गर्न नहुने पक्षमा छन् । अन्य पदाधिकारी यसबारे खुलेका छैनन् ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले विशेष अवस्थामा बाहेक कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी हुन नहुने बताए । ‘तर सामान्य अवस्थामा दुई पटकभन्दा बेसी एउटै पदमा रहिरहँदाखेरि धेरैखालका समस्या हुन सक्छन् । यो पार्टी जीवनको लोकतान्त्रीकरणको अभियानमा पनि जोडिएको छ,’ उनले भने ।

एमाले उपाध्यक्ष ज्ञवालीले हाल उमेर हद प्रावधान निलम्बन भए पनि विधान महाधिवेशनमा बहसको विषय भएको बताए । ‘म ७० वर्ष पुगिसकें, छोडिदिन्छु भन्छु । यो उमेरका अरूले पनि बाटो खुला गरिदिनुपर्छ,’ उनले भने, ‘आगामी विधान महाधिवेशनमा बहसको विषय बन्नेछ ।’ 

Preparations for Bhandari's comeback among Ukusmukus in UML

एकीकृत समाजवादीबाट एमालेमा आएका मुकुन्द न्यौपानेलगायत नेताहरूको हकमा उमेर हद निलम्बन गरेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यो बहसको विषय भइसकेको बताए ।

‘दसौं महाधिवेशनले पारित गरेको विधानमा अहिले पनि उमेर हदको कुरा उल्लेख छ । त्यसलाई व्यावहारिकताका हिसाबले स्थगित गरियो,’ उनले भने, ‘यो अनुमोदनका लागि अब विधान अधिवेशनमा जान्छ । त्यो अधिवेशनले उमेर हद राख्ने कि नराख्ने निर्णय गर्छ ।’

अध्यक्ष ओलीले भने गत २५ जेठमा अनेरास्ववियुको महाधिवेशनमा ७० वर्षे उमेर हद फेल खाइसकेको बताएका छन् । ‘७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर ?,’ ओलीले भने, ‘स्वास्थ्यले साथ दिन्छ, दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन, मुख्य कुरा हो ।’

एमालेको २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनले ७० वर्षे प्रावधान ल्याएको थियो । २०७८ असोजमा ललितपुरको गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले ७० वर्ष उमेर हदलाई पारित गरेको थियो । २०८० जेठमा बसेको एमाले सचिवालय बैठकले पार्टीको कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको थियो । 

उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नै पूर्वराष्ट्रपति भण्डारीलाई भावी नेतृत्वका रूपमा अघि सार्नु सान्दर्भिक नभएको बताए । ‘अहिले नै केही साथीले यसबारे चर्चा (भण्डारीलाई नेतृत्वका रूपमा अघि सार्ने कुरा) गरेको सुनिन्छ । यो चर्चा असान्दर्भिक छ,’ उनले भने, ‘महाधिवेशनको मिति तोकिएको छैन । अहिले नै नेतृत्वमा को आउने, को नआउने बहसले आन्दोलनमा भ्रम सिर्जना गर्छ ।’

पार्टीको आगामी ११ औं महाधिवेशनमा ओलीलाई चुनौती दिने नेता भण्डारी नै भएको राजनीतिक विश्लेषकको भनाइ छ । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले एमालेमा ओलीसँग आमनेसामने गर्न सक्ने भण्डारी मात्र रहेको बताए । ‘एउटा, उनीसँग मदन भण्डारीको लिगेसी छ । दोस्रो, उनी राष्ट्रपति भएका बेला ठूलो राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्पर्क विकास भएको छ,’ उनी भन्छन्, ‘भण्डारीलाई उमेरले पनि साथ दिएको छ । एमालेमा ओलीका कारणले उकुसमुकुस छ, त्यसलाई चुनौती दिने पात्रका रूपमा भण्डारी छिन् ।’ 

भण्डारीको राष्ट्र्रपति कार्यकाल

 –पहिलो : १२ कात्तिक २०७२ देखि २९ फागुन २०७४

 –दोस्रो : ३० फागुन २०७४ देखि २९ फागुन २०७९

अवकाशपछि राजनीतिक सक्रियता

  –२४ जेठ २०८२ : झापाको एक विद्यालयमा एमालेको ब्यानरमा प्रमुख अतिथि

 –२३ जेठ २०८२ : उपमेयर/उपाध्यक्षहरूको राष्ट्रिय भेला विराटनगरमा प्रमुख अतिथि

 –१०–१९ जेठ २०८२ : एमाले वरिष्ठ नेताको हैसियतमा १० दिने चीन भ्रमण

 –१४ चैत २०८१ : लुम्बिनीमा धार्मिक भ्रमण, एमाले नेता तथा कार्यकर्ता भेटघाट

 –५ फागुन २०८१ : एमाले नेताको हैसियतले थाइल्यान्ड भ्रमण

 –१४ माघ २०८१ : कोशीका विभिन्न जिल्लामा राजनीतिक भेटघाट

 –१४ असार २०८१ : काभ्रेमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा सम्बोधन

 –१६ जेठ २०८१ : एमाले जनसंगठनको भेलामा प्रमुख अतिथि

गंगा

Link copied successfully