'न प्रधानमन्त्रीको क्षेत्रमा बढी बजेट हालेका छौं, न पूर्वप्रधानमन्त्रीको क्षेत्रमा बढी बजेट हालेका छौं, न ठूला नेताको क्षेत्रमा बढी बजेट हालेका छौं, हामीले सन्तुलित बजेट हालेका छौं'
काठमाडौँ — खानेपानीमन्त्री प्रदीप यादवले आगामी चार वर्षभित्र काठमाडौं उपत्यकामा २४ सै घण्टा र बाह्रै महिना खानेपानी आउने दाबी गरेका छन् ।
काठमाडौंमा खानेपानीको व्यवस्था गर्नका लागि टेन्डर आह्वान र आर्थिको स्रोतको व्यवस्थापन भइसकेको पनि मन्त्री यादवले जानकारी दिए । उनले खानेपानी मन्त्रालयको बजेट पहुँचका आधारमा नभई आवश्यकताका आधारमा गरिएको पनि स्पष्ट पारेका छन् ।
मन्त्रालयको विनियोजनमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको सोमबार जवाफ दिने क्रममा मन्त्री यादवले काठमाडौंको खानेपानी समस्याको दीर्घकालीन समाधान खोजिएको बताएका हुन् । 'मेलम्चीमा दीर्घकालीन रूपमा काम गरिरहेका छौं । काठमाडौंमा ४ वर्षभित्र २४सैं घण्टा १२ महिना पानी आउँछ । त्यसका लागि खानेपानी मन्त्रालयले काम गरिरहेको छ । यो कागजमा मात्रै होइन टेन्डर आह्वान भइसकेको छ, त्यसको लागि पैसाको व्यवस्था भइसकेको छ,' मन्त्री यादवले भने ।
त्यस्तै, खानेपानी मन्त्रालयको विनियोजन पहुँचका आधारमा नभई आवश्यकताका आधारमा गरिएको पनि मन्त्री यादवले स्पष्ट पारे । प्रतिनिधिसभामा मन्त्रीहरूले पहुँचका आधारमा आफ्नो निर्वाचन क्षेत्र र ठूला नेताकोमा बजेट पारेको भन्दै सांसदहरूले आलोचना गरेको अवस्थामा मन्त्री यादवले भने त्यस्तो नगरिएको बताए । 'एउटा कुरा स्पष्ट गर्न चाहन्छु न प्रधानमन्त्रीको क्षेत्रमा बजेट हालेका छौं, न पूर्वप्रधानमन्त्रीको क्षेत्रमा बढी बजेट हालेका छौं । न ठूला नेताको क्षेत्रमा बढी बजेट हालेका छौं । हामीले सन्तुलित बजेट हालेका छौं । हातहातमा पुस्तक छ । सन्तुलिसत बजेट हालेको हुनाले सांसदहरूले यसमा रिसाएर होइन, मायाप्रेमले विनियोजन पास गरिदिन अनुरोध गर्छु,' उनले भने, 'कुन मन्त्रालयको बजेट अर्थमन्त्रीकोमा धेरै गएको छ वा कुन मन्त्रालयको के गएको छ तर मेरो विनियोजन त्यस्तो छैन । जसको क्षेत्रमा बढी बजेट गएको छ, त्यसैले गाली गरिरहेको छ । हामीले पहुँचको आधारमा बजेट हालेका छैनौं, एकदम सन्तुलित हिसाबले बजेट बनाएका छौं ।'
बजेट निर्माणका क्रममा दुर्गमका जिल्लाहरूलाई प्राथमिकतामा राखेको पनि मन्त्री यादवले बताए । उनले सांसदहरूलाई आग्रह गरे, 'वडा र टोलमा परेन भन्नेमा सांसदले चिन्ता नगर्नुस् ।'
