सुन तस्करी प्रकरणमा २ लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी अमला लगत्तै सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेकी थिइन्। तर सोमबारै उनलाई सम्पत्ति शुद्धीकरण विभागले हाजिरी जमानीमा छाडेको छ
काठमाडौँ — चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको अभियोग लागेकी रोल्पाकी अमला रोक्का २ लाख धरौटीमा रिहा भएकी छन्। ब्रेक सुमा राखेर तस्करी गरी भित्र्याइएको करिब ६१ केजी सुन प्रकरणकी प्रतिवादी रोकालाई सोमबार जिल्ला अदालत काठमाडौंले २ लाख धरौटीमा छाड्न आदेश दिएको हो।
धरौटीमा छाड्ने आदेश लगत्तै उनी माग भएको धरौट बुझाएर रिहा भएकी हुन् । त्यस लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को टोलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागले पनि सोमबार नै रोकालाई सामान्य हाजिरी जमानीमा छाडेको छ ।
सीआईबीका एसएसपी होविन्द्र बोगटीले ‘अदालतबाट छुटिजाने भएमा उपस्थित गराउनू भनेर विभागबाट पत्र आएको र धरौटीमा छुटे लगत्तै अमला रोकालाई नियन्त्रणमा लिएर विभागलाई बुझाइएको’ बताए । त्यसपछि विभागले सामान्य कागज गराएर रोकालाई सोमबार नै हाजिरी जमानीमा छाडेको हो ।
माओवादी निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी पूर्व उपाध्यक्षसमेत रहेकी रोकालाई असार ६ मा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौंको टोखाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा बुझाएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भेपलगायत उपकरणमा लुकाएर ल्याएको र २ साउन २०८० मा सिनामंगलबाट बरामद तस्करीको करीब ६१ केजी सुन प्रकरणमा अमला जाेडिएको प्रहरी अनुसन्धानले देखाएको थियो ।
भेपमा तस्करी गरेर ल्याएको सुनको अनुसन्धान सुरु भएपछि उनी फरार भएकी थिइन् । सुनको अनुसन्धान सुरु भएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा ‘सेल्टर’ लिएर बसेकी उनी त्यहीँबाट भागेकी थिइन् । त्यसपछि भारत पुगेको अनुसन्धानबाट खुले पनि पक्राउ पर्न सकेकी थिइनन् ।
पछिल्लो पटक भने रोका काठमाडौंमै आफन्तको घरमा लुकेर बसेको पाइएको थियो । उनी अनुसन्धानकै क्रममा फरार भएपछि सीआइबीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेर खोजी गरेको थियो । रोका सुन तस्करीका नाइके चिनिया मूलका बेलजियन नागरिक दावा छिरिङकी पत्नी हुन् । सुन तस्करी प्रकरणमै दावा छिरिङ अदालतको आदेशबमोजिम पुर्पक्षका लागि कारागारमा छन् ।
अमला रोका फरार रहेकै अवस्थामा सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २९ जनालाई प्रतिवादी बनाएर ३ अर्ब ५० करोड ३० लाख ९१ हजार ९ सय ७५ रुपैयाँ बिगो कायम गरी ३१ भदौ २०८० मा मुद्दा दायर गरेको थियो । दावा छिरिङ सुरुमा तिब्बती शरणार्थी बनेर नेपाल भित्रिएर त्यसपछि रोक्कासँग विवाह गरी सुन तस्करीको धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो ।
यही क्रममा दावा छिरिङ रोक्कामार्फत पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (हाल माओवादी उपाध्यक्ष) र माओवादी नेता वर्षमान पुनको परिवारसँग निकट भएर त्यसकै आडमा तस्करी धन्दा चलाएको खुलेको थियो । अपराधबाटै आर्जित सम्पत्तिले रोक्काले ठमेलमा भियाना होटल र अरु कम्पनी खोलेर तस्करीको सुनबाट आर्जित रकम लगानी गरेको पनि पाइएको थियो ।
यता दावा छिरिङकै साझेदार अर्का सुन तस्कर दावा जिन वाङको माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महराको परिवारसँग जोडिएको थियो । यो नेटवर्कसँगै माओवादीका प्रभावशाली नेताहरुको परिवार नै तस्करको धन्दामा जोडिएपछि रोक्का फरार भएकी थिइन् ।
