काठमाडौँ — रास्वपाले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले राजीनामा दिनुपर्ने रास्वपाले माग गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपाका सांसद असिम शाहले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठेकाले राजीनामा गर्नुपर्ने बताएका हुन् ।
भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन गर्न नदिएर सरकार समस्याप्रति मूकदर्शक बनेको सांसद शाहको भनाइ थियो । सरकार भिजिट भिसा प्रकरणको छानबिन गर्नुको सट्टा मुखदर्शक बनेर बसेकोमा आपत्ति जनाउँदै त्यसमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले माग गरे ।
पीडितलाई न्यान दिने र घटनामा संलग्नलाई कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने रास्वपाको माग छ । ‘गृहमन्त्रीले यही सदनमा भन्नुभएको थियो कुनै मन्त्रीमाथि प्रश्न उठे नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । आज उहाँमाथि नै प्रश्न उठेको छ,' शाहले भने, 'अब उपदेश हैन आचरण देखाउने समय हो । नत्र इतिहासले उहाँलाई काफिला लुट्दा मौन बस्ने कायर रहबरको रुपमा सम्झिनेछ ।’
रास्वपा संख्यामा थोरै भएपनि मुद्दामा कमजोर नरहेको शाहले बताए । रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभएसम्म संसद्मा विरोध जारी राख्ने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि रास्वपाले वेल घेराउ गरेको छ । रास्वपाले जेठ ३० यताका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आएको छ ।
