२०४६ सालपछि सरकारमा गएका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाऔं : महामन्त्री थापा

असार ८, २०८२

कान्तिपुर संवाददाता

Let's form a powerful commission to investigate the assets of all those who joined the government after 2046: Mahamantri Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले २०४६ सालयता सरकारमा गएका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । आइतबार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले पछिल्लो ३ दशकयता सरकारमा गएका सबैको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव गरेका हुन् । 

भ्रष्टाचार र अनियमितताविरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जीको भरोसा जित्न नसकिने महामन्त्री थापाको भनाइ छ । ‘२०४६ सालको अन्दोलनपछि कांग्रेस सत्तामा आएको हो । कांग्रेस सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो–जोले जिम्मेवारी लिएका छौँ । बितेका ३० वर्षभन्दा लामो समयको संसद्‍बाटै पूर्वन्यायाधीशको संयोजकमा छानबिन आयोग बनाऔं,’ महामन्त्री थापाले भने । 

उनले यस्तो छानबिनका लागि देशले पत्याएको पूर्वन्यायाधीश छान्नुपर्ने पनि बताए । उनले अगाडि भने,  ‘यस्तो मान्छे छानौँ कि त्यो एमाले, कांग्रेस माओवादी केही पनि नहोस् । र त्यो व्यक्तिलाई २०४६ सालपछिका जिम्मेवारीमा बसेका सबै नेताको सम्पत्ति छानबिन गर्न भनौँ ।’ 

छानबिन आयोगले दोषी ठहराएका जोसुकैलाई पनि कारबाही गर्न सके मात्र जेन-जीको भरोसा जित्न सकिने पनि उनको भनाइ छ । ‘त्यो छानबिन गराउँदै गर्दा जो जनो मान्छे पर्छ, जतिसुकै शक्तिशाली मान्छे प रेपनि आयोगले जे कुरा लिएर आउँछ त्यो कुरालाई मान्छ भनेर हामी आँट गर्यौं भने बल्ल जेन–जी पुस्ताले हाम्रो कुरा सुन्छ,’ महामन्त्री थापाले भने ।

विगतमा देशका लागि लडेकै आधारमा अब नेताहरूलाई परिवारको लागि कमाऊ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully