काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाटै स्वास्थ्य विज्ञान सुरु भएको बताएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताएका हुन् ।
‘यो स्वास्थ्य विज्ञानको सुरुवातको भूमि हो । स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो । हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन । हाम्रा कतिपय पुराना मेथोडलोजी, पुराना विधि, प्रविधिहरु उपयोगी हनुसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिक रूपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्,दक्ष जनशक्ति कसरी पूरा गर्ने ? यी सबै कुरा छन्,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले बिरामीको संख्या न्यून गर्नेतिर सरकारको ध्यान गइरहेको समेत बताए ।
