पोखरा सहकारीको ८० करोड हिनामिना

सहकारीका सञ्चालक समितिका सदस्य र व्यवस्थापकको मिलेमतोमा रकम हिनामिना भएको छानबिनमा फेला

असार ८, २०८२

नारायण शर्मा

80 crore embezzlement of Pokhara cooperative

नवलपरासी — पोखरा बचत तथा ऋण सहकारीमा बचतकर्ताको ८० करोड रकम हिनामिना भएको पाइएको छ ।

गण्डकी प्रदेशको सहकारी रजिस्ट्रारको कार्यालयले गरेको छानबिनमा सहकारीका सञ्चालक समितिका सदस्य र व्यवस्थापकको मिलेमतोमा रकम हिनामिना भएको पाइएको हो ।

कार्यालयको छानबिन प्रतिवेदनअनुसार बिनाधितो र नक्कली खाता खोलेर रकम हिनामिना गरेको फेला परेको छ । सोही कारण सहकारी डुब्ने अवस्थामा पुगेको प्रतिवेदनले औंल्याएको छ । ८ वर्षदेखि लगातार सञ्चालक समितिको अध्यक्ष रहेका सुरेन्द्रबहादुर गोदार र ९ वर्षदेखि व्यवस्थापक रहेका भीष्मप्रताप गुरुङ मिलेर २९ करोड रकम हिनामिना गरेको छानबिनमा देखिएको हो । उनीहरूले व्यक्तिगत लाभ लिएर सहकारी ऐनविपरीत नक्कली खाता खोलेर रकम लगेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, सहकारीले ऋण लगानी गर्दा सामान्यतया एक प्रतिशत सेवा शुल्क लिन पाउनेमा यो सहकारीबाट ऋण लैजानेले २ प्रतिशत सेवा शुल्क बुझाएको छानबिनमा देखिएको छ । त्यसरी संस्थाको नामबाट लिएको सेवा शुल्कबापतको रकम सहकारीमा जम्मा नगरी कहिले अध्यक्षले त कहिले व्यवस्थापकले लिने गरेको पनि भेटिएको छ ।

उक्त सहकारीमा आफ्नो र बुबाका नाममा ३ वर्षअघि २ करोड ५० लाख रुपैयाँ राखेका पोखराका यमबहादुर पुनले दुई वर्षअघि नै सहकारी रजिस्ट्रारको कार्यालयमा रकम फिर्ता पाऊँ भन्दै निवेदन दिएका थिए । रकम फिर्ता नपाएपछि दुई महिनाअघि फेरि निवेदन दिएका थिए । त्यसपछि अन्य ६ जनाले पनि निवेदन दिएपछि रजिस्ट्रारको कार्यालयले छानबिन गरेको हो ।

पोखराको नयाँ बजारमा मुख्य कार्यालय रहेको यो सहकारीको अमरसिंह चोकमा सम्पर्क कार्यालय छ । यो सहकारीमा ३ हजार ५६ सेयर सदस्य छन् । २०५८ सालमा यो सहकारी दर्ता भएको हो । सहकारीका अध्यक्ष गोदारले सहकारी ऐन बाहिर लगानी गरेका कारण रकम असुली हुन नसकेको स्विकारे । ‘घरजग्गामा करिब ७० करोड लगानी छ । १२ करोड अटोमोबाइल्समा लगानी छ । घर जग्गामा गरेको लगानी उठाउन बिक्री गर्नुपर्छ । ऋण लैजानेले बिक्री भएको छैन भन्छन्,’ उनले भने, ‘अटोमोबाइल्समा ऋण लगेकाहरूको कमाइ नै छैन कसरी तिरून् ? त्यो उठ्दै उठ्दैन मैले के गर्ने ?’ गोदारले रकम उठाउन अब ताकेता गर्ने बताए ।

सहकारीमा ९ वर्ष अघिदेखि व्यवस्थापक रहेका गुरुङले घरजग्गामा ७० प्रतिशत र अटोमोबाइल्समा २५ प्रतिशत लगानी गरिएको जानकारी दिए । ‘३ वर्षअघि १ अर्ब ११ करोड लगानी गरेका थियौं । अब साँवा रकम ५७ करोड र ब्याज १९ करोड असुली हुन बाँकी छ । म अहिले पनि असुलीमै व्यस्त छु,’ उनले भने, ‘१ करोडभन्दा धेरै रकम ऋण लैजाने २ जना छन्, ५० लाखभन्दा धेरै लैजाने २०–२५ जना छन् ।’

सहकारीको रकम जथाभावी चलाएकै कारण फिर्ता गर्न नसक्ने अवस्था आएको सहकारी रजिस्ट्रार भेषराज रिजालले बताए । उनका अनुसार एक साताअघि सहकारीका सञ्चालक समिति र व्यवस्थापकलाई बोलाएर स्पष्टीकरण सोधिएको छ । ‘एक साताभित्र बचतकर्ताको रकम फिर्ता दिन सक्ने कार्ययोजना पेस गर्न भनेका छौं,’ रिजालले भने, ‘सहकारी ऐनविपरीत अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा रकम हिनामिना भएको देखिन्छ । त्यसमा अन्य सञ्चालक समितिका सदस्य र पदाधिकारीहरूको समेत मिलेमतो रहेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।’

नक्कली कागजातका आधारमा अध्यक्ष गोदार एक्लैले १२ करोड र व्यवस्थापक गुरुङले १५ करोड हिनामिना गरेको प्रारम्भिक अनुसन्धानले देखिएको रिजालले बताए । ‘नक्कली खाता बनाएर रकम हिनामिना गरेका कारण असुली हुने अवस्था देखिँदैन,’ रिजालले भने, ‘२ वर्ष अघिदेखि नै यो सहकारीका सञ्चालक समितिका सबै सदस्य र व्यवस्थापकलाई सचेत गराउँदासमेत कुनै सुधार भएन ।’ रिजालका अनुसार एक साताभित्र बचतकर्ताको रकम फिर्ता गर्ने भरपर्दो आधार नदेखाए थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई आग्रह गरिनेछ ।

सहकारी रजिस्ट्रारको कार्यालयका अनुसार गण्डकी प्रदेशका सहकारीमै साढे ५ अर्ब २७ करोड हिनामिना भएको छ । पोखराकै प्राइम बहुउद्देश्यीय सहकारीमा १ अर्ब ५९ करोड रकम हिनामिना गरेको अभियोगमा संस्थाका प्रमुख कार्यकारी सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरुमाया केसी पुर्पक्षका लागि थुनामा रहेका छन् । यस्तै, मित्रमिलन बचत तथा ऋण सहकारी पोखराका अध्यक्ष रमण पौडेल पनि बचतकर्ताको ३३ करोड रकम हिनामिनाको अभियोगमा पुर्पक्षका लागि कारागारमा छन् ।

म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारीको १ अर्ब ४९ करोड हिनामिना गरेको अभियोगमा सञ्चालक समितिका अध्यक्ष तथा जिसस प्रमुख राजकुमार थापासमेत ५ जना कारागारमा छन् । बागलुङको इमेज सहकारीको १ अर्ब ३१ करोड हिनामिना गरेका ढोरपाटन नगरपालिकाका अध्यक्ष देवकुमार नेपाली पनि थुनामा छन् । बेनीको कस्तूरी सहकारीका अध्यक्ष राजेश शाक्यमाथि पनि ४८ करोड हिनामिनाको आरोप छ । पूर्वी नवलपरासीको कावासोतीमा रहेको छिपछिपे सहकारी को १६ करोड रकम हिनामिना भएको तथ्य बाहिरिएको एक वर्ष भइसक्दा पनि रकम असुली हुन सकेको छैन । यो सहकारीको रकम हिनामिना गरेको अभियोग लागेकी राप्रपाकी संघीय सांसद गीता बस्नेत फरार छिन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully