काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानविन हुनुपर्ने बताएकी छिन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले आफूहरुले जनताको आावज उठाउँदा पनि सरकार बेखबर रहेकोप्रति चिन्ता व्यक्त गरिन् । रुस, युक्रेन सेनामा रहेका नेपालीहरु पनि भिजिट भिसाबाटै त्यहाँ पुगेको बताइन् ।
गृहमन्त्री भिजिट भिसा प्रकरणमा जोडिएको दाबी गर्दै आफूहरुले राजीनामा माग गरेको बताइन् । गठबन्धन दलसँग पनि सुशासन कायम गर्ने भए गृहमन्त्रीलाई बर्खास्ती गर्नुपर्ने माग गरिन् । एक करोड दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरुले पनि खाएका त छैनन् ? भन्दै प्रश्न गरिन् ।
उनले भनिन्, ‘हामीले नेपाली जनताको लागि आवाज उठाएका छौं । रसियामा गएर काल कुरेर बसेका दाजुभाईको लागि हामीले आवाज उठाएका छौं । यो जाने बाटो भिजिट भिसाको हो । हाम्रा दाजुभाई दिदिबहिनीहरु बेचिएका छन् । उनीहरुमार्फत लाखौँ रुपैयाँ असुल गर्ने जस्तो निर्लज्जता केही पनि छैन । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानविन हुनुपर्छ । गृहमन्त्रीज्यु पनि अहिले त्यो दायरामा आउनुभएकाले उहाँको राजीनामा माग गरेका छौँ । हाम्रो माग जायज छ ।’
सांसद कार्कीले पैसा कमाउन देश पनि बेच्ने हो ? भन्दै प्रश्न गरिन् । अविलम्व उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताइन् । गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको माग छ ।
