काठमाडौँ — इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपाली नागरिकहरूको उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिइन् ।
इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग अनुरोध गरेको बताउँदै उनले सो विषयमा भारत सरकार सकारात्मक रहेको जानकारी दिइन् ।
परराष्ट्रमन्त्री डा. राणाले भनिन्, 'इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकहरूको उद्धार गर्दा नेपालीहरूको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ ।'
भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मा पनि नेपाली नागरिकहरूको उद्धारका लागि भारत सरकारसँग निरन्तर सम्पर्क र समन्वयमा रहेका छन् ।
तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकहरूको उद्धार गर्दैछ । यस क्रममा उक्त दूतावासले नेपाली नागरिकहरूलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीहरूको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतावासका उपप्रमुखसँग सम्पर्क र समन्वय भइरहेको जानकारी दिए ।
