इरानमा रहेका ११ नेपालीलाई आइतबार तेहरानबाट मशहद लगिँदै

सुरक्षाका कारण तेहरान छोडेका ७ नेपाली पुनः तेहरान फर्किए

असार ७, २०८२

होम कार्की

11 Nepalis in Iran are being taken from Tehran to Mashhad on Sunday

काठमाडौँ — इरानको राजधानी तेहरानमा भएका १७ जना नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले उद्धारका लागि आइतबार तेहरानबाट उत्तरी सहर मशहद लैजाने भएको छ ।

भारतीय दूतावासले आइतबार बिहान ७ बजे तेहरानबाट बसबाट कोम हुँदै मशहद लैजाने तयारी गरेको छ । तेहरान छाडेका ७ जना नेपाली शनिबार बेलुकासम्म पुन: तेहरान फर्किँदै छन् ।

‘हामी ११ जना नेपालीलाई आइतबार बिहानै जम्मा हुन तेहरानको स्थानीय ठेगाना दिइएको छ,’ तेहराइनमा कार्यरत हरि थापाले ईकान्तिपुरसँग भने, ‘त्यहाँबाट हामीलाई मशहद पुर्‍याइनेछ । सम्भवत मादबाट हामीलाई विमानबाट भारत उडाइनेछ ।’

उनले तेहराइनबाट कोमसम्म पुग्न कम्तीमा बसबाट साँढे दुई घन्टा लाग्ने बताए । त्यहाँबाट मशहद पुग्न झन्डै १२ घण्टा लाग्ने उनले बताए । अहिले भारतीय दूतावासका अधिकारीहरु मशहदमा बसेर भारत पठाउने कार्य भइरहेको छ ।

आइतबार नै तेहरानबाट उद्धार गर्ने भएपछि तेहरान छोडेर अर्को सहर गएका ७ जना नेपाली शनिबार पुन: तेहरान फर्किँदै छन् । उनीहरूले बुधबार तेहरान छाडेका थिए ।

आइतबार तेहरानबाट मशहद जानेहरूमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, उनका श्रीमती गायत्री कार्की थापा रहेका छन् ।

त्यस्तै, बुटवलका विष्णु भुसाल, बुद्धिसागर पौडेल, गणेश पोखेरल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल रहेका छन् । उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टका काम गर्दै आएका छन् ।

‘मेरो बिदामा जान भनेर असार १ गते नै टिकट काटिसकेको थिएँ । त्यसको दुई दिन अगाडिबाट नै इजरायलले इरानमा आक्रमण गरेपछि युद्ध सुरु भयो,’ १६ वर्षदेखि इरानी रेस्टुरेन्टमा सेफको काम गर्दै आएका बुटवलका गणेश पोखरेलले ईकान्तिपुरसँग भने, ‘अहिले पनि म बसेको ठाउँ सुरक्षित नै हो । यहाँ भइरहेको आक्रमण टिभीमै हेर्दा मात्रै थाहा हुन्छ । बाहिर मान्छेहरू हिँडडुल नै गरिरहेका छन् । बेला बेला मिसाइल पड्केको आवाज आइराख्छ ।’

इरानी जेलमा भएका ५ जना नेपालीलाई उद्धार गर्ने दिन भने तोकिएको छैन । दोहास्थित नेपाली दूतावासले ३ जनाको ट्राभल डकुमेन्ट पठाइसेको छ । दुई जनासँग राहदानी साथमै छ ।

दोहास्थित नेपाली दूतावासले दाङका गोविन्द डाँगी, मदन डाँगी र पुष्कर खत्रीको ट्राभल डकुमेन्ट पठाएको हो । महेश डाँगी र बालकृष्ण खड्काको साथमै राहदानी छ । उनीहरू डेढ महिना अगाडि इरानको आवासीय कानुन उल्लंन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनीहरूलाई स्वदेश फर्काउन आदेश जारी गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकको उद्धार गर्न भारत सरकारलाई आग्रह गरेको थियो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति भारत सरकारसँग अनुरोध गरेको जानकारी दिँदै भारत सरकार सकारात्मक रहेको बताएकी थिइन् ।

‘इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकहरूको उद्धार गर्दा नेपालीहरूको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु,’ उनले भनिन्, ‘हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ’  

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully