काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिजिट भिसा प्रकरणमा प्रश्न सोध्न खोज्दा सभामुखबाट समय प्राप्त नभएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीलाई सांसदहरूले प्रश्न सोध्ने कार्यसूची थियो । संसद्मा अवरोध गर्दै आएको रास्वपाले भने कार्यसूचीमा प्रवेश गर्नु पहिले नै बोल्न पाउनुपर्ने माग गरेको थियो । जेठ ३० यताका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आएको रास्वपाले शुक्रबारको बैठकमा भने प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने माग राखेको थियो । तर, सभामुख देवराज घिमिरेले समय दिएनन् ।
'जनताको आवाज सुन्ने थलो हो भन्ने अनि सुन्दै नसुन्ने वातावरण सिर्जना भयो भने सदनको औचित्य के हुन्छ ? हाम्रा आवाज सुन्नुपर्यो, समस्या समाधान गर्नुपर्यो भन्दै आइरहेका छौं । प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम नचलाउनुस् भनेका होइनौं, चलाउनुस् तर हाम्रो पनि प्रश्न थयो । सरकारको नेतृत्व गर्ने व्यक्तिलाई हाम्रा प्रश्न नसुनाए कसलाई सुनाउने ?,' उनले भनिन्, 'सदनमा आउनुभएको बेला सांसदले प्रश्न राख्दा प्रधानमन्त्रीले नुसन्ने कुरा त छैन नि, उहाँलाई नै प्रश्न सुनाउनुपर्छ भनेर उठेका थियौं तर समय विनियोजन भएन ।'
संसद्मा एक सांसद भएको पार्टीले पनि विरोध गरेमा सुन्नुपर्ने अभ्यास रहेको गौतमको भनाइ थियो । जनताको प्रतिनिधित्व गरेर आएको सांसदलाई आफ्ना धारणा राख्नका लागि समय उपलब्ध गराउनुपर्ने र सरकारले पनि ती प्रश्न सुन्नुपर्ने गौतमले बताइन् । तर, सभामुख घिमिरेले भने सदनमा अवरोध गर्दा र वेल घेराउ गर्दा पनि रास्वपालाई समय नदिएको उनले बताइन् । त्यसपछि मात्रै सदन बहिष्कार गर्न बाध्य भइरहेको सांसद गौतमले बताइन् ।
'सदनमा हामीले पटकपटक आन्दोलन गर्दा, विरोध गर्दा, समय दिएर कुरा सुनियोस् भन्दा पनि सदनले सुन्दैन भने यो सदनमा हाम्रो स्थान रहेनछ भनेर बहिष्कार गरेका हौं । अब जनातामा जान बाहेक के विकल्प बाँकी रह्यो ?,' उनले भनिन् ।
सदनमा बस्नु समयको बर्बादी गर्नुजस्तो भइरहेको गौतमको भनाइ थियो । 'सदनमा बसेर समय बर्बाद गर्नुभन्दा जनतासँग गएर हाम्रा कुरा राख्नु, यस्तो हुँदैछ है भनेर जनतालाई यथार्थ देखाउनु महत्वपूर्ण रहेछ भन्ने हामीलाई महसुस भएको छ, त्यसकारण हामीले बहिष्कार गरेका हौं,' उनले भनिन् ।
त्यस्तै, भिजिट भिसा प्रकरण र अध्यागमनका सम्बन्धमा व्यक्ति विशेषलाई नभई गलत कामको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखिएको गौतमले बताइन् । भिजिट भिसा प्रकरणको गहिराइसम्म गएर छानबिन गर्नका लागि निष्पक्ष र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग रहेको उनले बताइन् ।
