काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले आउँदो असार १५ गतेदेखि सबै सेवाहरू अनलाइनबाट उपलब्ध गराउने घोषणा गरेको छ । शुक्रबार परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति जारी गर्दै पनिकाले १० वटा सेवा अनलाईनबाट प्राप्त गर्न सकिने जनाएका छन् ।
यसअघि वैशाखदेखि कार्यालयले ट्रान्सक्रिप्ट आवेदन फारम, अनलाइन माध्यमबाट भर्ने/भराउने कार्य गर्दै आएको थियो ।
अनलाइन भुक्तानीसहितका सेवा परीक्षणसमेत भइसकेको जनाइएको छ । पनिकाले त्रिवि रजिस्ट्रेसन आवेदन फारम, परीक्षा आवेदन फारम, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागि आवेदन, शैक्षिक कागजात (नाम/थर/रजिस्ट्रेस सच्याउने, शैक्षिक सिफारिस प्रमाणिकरण, विभिन्न सिफारिस पत्र र प्रतिलिपी ट्रान्सक्रिष्ट र मार्कसिट आवेदन फाराम असार १५ गतेदेखि अनलाइन माध्यमबाटै प्राप्त गर्न सकिने जोशीले जनाए ।
पनिकाले विज्ञप्तिमा शैक्षिक क्यालेन्डर लागू गरी परीक्षा प्रणालीलाई व्यवस्थित गर्दै समयमै नतिजा प्रकाशन गर्ने कार्यमा सफलता प्राप्त भएको जनाएको छ । २०७५ देखि अनलाइन दीक्षान्त फारम गर्दै आएको त्रिविले २०७९ माघ १५ गते देखि सबै सेवा अनलाइन आवेदनबाट प्रदान गर्ने घोषणा गरे पनि अवरुद्ध भएको थियो । गत वैशाखदेखि आंशिक रूपमा अनलाइन सेवा दिँदै आएको कार्यालयले असार १५ देखि पूर्ण रूपमा अनलाइन सेवा सञ्चालन गर्ने घोषणा गरेको हो ।
