'वनजंगल एडभेन्चर'मा मौलिक नेपाली घर पनि

असार ६, २०८२

कान्तिपुर संवाददाता

Also original Nepalese house in 'Forest Jungle Adventure'

काठमाडौँ — आन्तरिक पर्यटकको संख्या बढिरहेका बेला पछिल्लो समय साहसिक पर्यटनको पनि विस्तार भएको छ । यस्तैमा नयाँ गन्तव्यका रूपमा देखापरेको छ- वनजंगल एडभेन्चर ।

यो काठमाडौं उपत्यका नजिकै तारकेश्वर नगरपालिका–३  मा रहेको छ । जिपलाइन, रकक्लाइम्बिङ, रोलर कोस्टर लगायतका अनुभव सँगाल्न यहाँ उपत्यका बाहिरका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्न थालेका छन् । काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढाटाढा जानुपर्ने बाध्यता पनि अब हटेको छ ।

रिङरोड बाइपासबाट १० किलोमिटरभित्र ककनी राजमार्गमा पर्ने पाँचमानेमा वनजंगल एडभेन्चर बनेको हो । यहाँ पुग्ने पाहुनाले प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सक्नेछन् ।

आठ महिनादेखि आफूहरुले सेवा दिँदै आएको वनजंगल एडभेन्चरकी सञ्चालक एलिसा ढकालले बताइन् । 'साहसिक पर्यटनमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी हामीले यो प्रोजेक्ट सुरु गरेका हौं,' उनले भनिन्, 'राजधानीमा बसोबास गरिरहेकाका लागि यो नजिकको गन्तव्य बनेको छ ।' हिजोआज साहसिक पर्यटनको ‘प्याकेज’ बनाएर आउनेको संख्या बढिरहेको उनले बताइन् । 

उनका अनुसार काठमाडौंका मानिस यहाँ आउँदा समयको बचत हुने जंगलभित्र सबै एडभेन्चरको महसुस गर्न पाउनेछन् । ३० रोपनीमा फैलिएको वनजंगलमा सेवाग्राहीले जिपलाइन, रोलर कोस्टर, क्लाइम्बिङ वाल, अब्स्टयाक्ल कोर्स, हाइरोप कोर्स, किड्स एडभेन्चर कोर्स, जिपलाइन ट्रिपटप एडभेन्चर र जाइन्ट स्वीङको अनुभव लिन सकिने उनको भनाइ छ ।

'साहसिक पर्यटनका लागि यहाँ रोलर कोस्टर पनि छ,' सञ्चालक ढकालले भनिन्, 'यसमा फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ । पर्यटकले एक मिनेटसम्म फलामको डन्डामा घुमेर मनोरञ्जन लिन सक्नेछन् ।' अधिकांश खेल खेलाउन पर्यटन विभागबाट अनुमति लिएको र साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बिमा गरिएको उनले बताइन् ।

पर्यटकले टेन्ट र मौलिक नेपाली घरमा बसेर पनि फरक अनुभूति गर्न सक्छन् । यहाँ ११ टेन्ट र एक मौलिक घर छन् । 'मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाइन्छ,' ढकालले भनिन्, 'मौलिकतालाई बचाइराख्न पनि हामीले यसो गरेका हौं ।'

कान्तिपुर

Link copied successfully