पूर्वराष्ट्रपतिले एमालेको राजनीतिप्रति रुचि राख्नु अस्वाभाविक होइन : ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष (एमाले)
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको संगठित सदस्यता नवीकरण गरी राजनीतिक सक्रियता बढाएपछि यसबारे अनेक कोणबाट व्याख्या र बहस सुरु भएको छ । कतिपयले उनको सक्रियतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धीको रुपमा अर्थ्याएका छन् भने कतिपयले वाम एकताको अभ्यासको नयाँ प्रस्थान विन्दुका रुपमा ।
जे जस्तो अड्कलबाजी गरे पनि पूर्वराष्ट्रपति भण्डारीका पछिल्ला गतिविधि र भनाइ अनि त्यसले एमाले अध्यक्ष ओलीलाई पारेको असजिलो अब सुषुप्त विषय रहेन । दुई पटक राष्ट्रपति भइसकेकी भण्डारी र दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले एमाले नेतृत्वका लागि देखाएको आकांक्षाले कस्तो राजनीतिक मोड लिन्छ भन्नेचाहिँ हेर्न बाँकी नै छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र भण्डारीबीच सवालजवाफले तरंग उत्पन्न भइरहेका बेला यी दुई नेताबीच संवाद पनि सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति दुई नेताबीच सम्भावित सहकार्यका विषयमा करिब दुई घण्टा भेटवार्ता भएको हो । भण्डारीको सक्रियताले एमालेभित्र दुई धार सिर्जना हुन थालेपछि ओलीले संवाद गरेका हुन् ।
यसअघि गत पुसमा भण्डारी निवास बुढानीलकण्ठमा दुई नेताबीच करिब यति नै अवधि कुराकानी भएको थियो । मंगलबार एक्लाएक्लै भएको भेटवार्तामा ‘समसामयिक’ विषयमा कुराकानी भएको हुन सक्ने ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताए । ‘दुई नेताबीच मात्र भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको हुन सक्छ,’ उनले भने ।
भण्डारीको राजनीतिक सक्रियता बढेपछि ओली र भण्डारीबीच आगामी ‘सहकार्य’ का लागि संवादको ढोका खुलेको छ । भण्डारी पार्टी राजनीतिमा सक्रिय हुने चाहना नै हो भने सहमति र सहकार्यमा अघि जाने सकिने ओलीले आग्रह गरेको स्रोतको भनाइ छ । भण्डारीको राजनीतिक सक्रियतामा एमालेकै नेताहरुको हात रहेको ओलीको बुझाइ छ । त्यसैले उनले पार्टीभित्र गुटबन्दी बढ्दै गएको सार्वजनिक कार्यक्रममा भन्न थालेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन सुझाव सल्लाह दिँदै आएका नेताहरुले पार्टीको पदाधिकारीमा रहने नेताको ७० वर्षे उमेर हद लागू गर्नुपर्ने वा कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने प्रावधान राख्नुपर्ने लबिङ गर्दै आएका छन् ।
यसको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायत अन्य पदाधिकारी छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमालचाहिँ कार्यकाल र उमेर हदभन्दा विचार र नेतृत्वको आवश्यकता महत्वपूर्ण हुने भन्दै दुवै प्रावधान लागू गर्न नहुने पक्षमा छन् । अन्य पदाधिकारी भने यसबारे खुलेका छैनन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विशेष अवस्थामा बाहेक कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी हुन नहुने बताए । ‘सामान्य अवस्थामा कार्यकारी पदमा दुई पटकभन्दा बेसी रहने व्यवस्था हुनु हुँदैन । कतिपय अवस्थामा विशेष अवस्था आइलाग्ला, त्यो अलग कुरा हो,’ उनले कान्तिपुरसँग भने, ‘तर सामान्य अवस्थामा दुई पटकभन्दा बेसी एउटै पदमा ररिहँदा धेरै खालका समस्या हुन सक्छन् । पार्टी जीवनको लोकतान्त्रीकरणको अभियानमा यो प्रसंग पनि जोडिएको थियो ।’
उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नै पूर्वराष्ट्रपति भण्डारीलाई भावी नेतृत्वको रुपमा अघि सार्नु सान्दर्भिक नभएको बताए । अहिले नै केही साथीहरुबाट यो चर्चा (भण्डारीलाई नेतृत्वका रुपमा अघि सार्ने कुरा) गरेको सुनिन्छ । यो चर्चा असान्दर्भिक छ,’ उनले भने, 'महाधिवेशनको मिति तोकिएको छैन । अहिले नै को नेतृत्वमा को आउने, को नआउने बहसले आन्दोलनमा भ्रम सिर्जना गर्छ ।’
एमाले अध्यक्ष ओलीको कार्यशैलीमा ‘केन्द्रियता’ हाबी भएको भन्दै उनको प्रतिस्पर्धामा पूर्वराष्ट्रपति भण्डारीलाई उभ्याउने गृहकार्यमा केही नेताहरु लागेका छन् । ‘अध्यक्ष ओलीको प्रतिस्पर्धीका रुपमा पूर्वराष्ट्रपति भण्डारी उपयुक्त नेता हो भन्ने लागेको छ,’ भण्डारी निकट एक पदाधिकारीले भने, ‘यसका लागि मानसिक रुपमा विद्या भण्डारी तयार हुनुहुन्छ ।’
७० वर्षे उमेरहदको व्यवस्था निलम्बनमा रहेको र दुई कार्यकाल कार्यकारी पदमा लागू भए २०१८ असारमा जन्मिएकी पूर्वराष्ट्रपति भण्डारीका लागि सहज हुनेछ । आगामी पार्टीको ११ औं महाधिवेशनमा ओलीलाई चुनौती दिने नेता भण्डारी नै भएको कतिपय राजनीतिक विश्लेयक बताउँछन् ।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले ओलीलाई चुनौती दिन सक्ने नेता भण्डारी नै भएको बताए । ‘एमालेमा ओलीसँग आमनेसामने गर्न सक्ने नेता छैनन् । त्यो सामर्थ्य भनेको विद्या भण्डारीमै छ । एउटा, उनीसँग मदन भण्डारीको लिगेसी छ । दोस्रो, उनी राष्ट्रपति भएका बेला ठूलो राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्पर्क विकास भएको छ,’ उनले अर्को कारण खुलाए, ‘विद्यालाई उमेरले पनि साथ दिएको छ । एमालेका ओलीका कारणले उकुसमुकुस छ, त्यसलाई चुनौती दिने पात्रको रुपमा छन् ।’
देशभित्र मात्र होइन, विदेश पनि उनले एमाले नेताको हैसियतले सम्बन्ध विस्तार गर्न थालेपछि ओली झस्किएका हुन् । जेठको दोस्रो साता चीन भ्रमण गर्दा नेताकै रुपमा प्रस्तुत भएकी थिइन् ।
उता ओलीले भण्डारीलाई सक्रिय गराउने प्रयासलाई गुटबन्दीको रुपमा लिँदै खारेज गर्न सार्वजनिक रुपमा बताउन थालेका छन् । जेठ २५ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलनमा उनले भण्डारीतर्फ संकेत गर्दै ‘फलाना’ राजनीतिमा आउने भनेर समूह बनाएको बताए ।
‘अहिले हल्ला चलेको छ । तलतल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । फलानाका ग्रुप, यसका ग्रुप त्यो छोडिदिनुस् । अर्को खेल हुन खोजेको छ यहाँ । अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो–यस्तो,’ उनले भने, ‘पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन । छलफल भएको छैन, अनि यो बाहिर–बाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने ।’
उनले पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने दुष्प्रयास भएको बताइसकेका छन् । ओलीको यो भनाइ आफूप्रति लक्षित नभएको उल्लेख गर्दै भण्डारीले आफू एमालेमै हुर्केको बढेको हुनाले आगामी दिनमा जिज्ञासा उठ्नु स्वाभाविक भएको बताइन् ।
‘हाम्रो एमालेका आदरणीय अध्यक्षज्युले विद्या भण्डारीलाई प्रतिस्पर्धी देखेर यो धारणा बनाउनुभएको छ भन्ने पटक्कै लाग्दैन । बच्चादेखि नै वामपन्थी आन्दोलनमा लागेँ,’ उनले भनिन्, ‘विद्या भण्डारी राजनीतिमा आउँदा के हुन्छ ? कहाँ जानुहोला भन्ने प्रश्न होला । पार्टीगत रूपमा हेर्दा जुन पार्टीबाट हुर्के बढे र यो स्थानमा पुगेँ, योभन्दा फरक सोच्ने कुरा भएन । सक्रिय पार्टीमा हुँदा, म अध्यक्ष हुने कुराले अरु आकांक्षीहरुलाई पनि मनमा प्रश्न उठाएको हुन सक्छ नि त ।’
विराटनगर र ओलीको गृहजिल्ला झापामा एमाले नेता तथा कार्यकर्तासँग उनले भेटघाट बाक्लै गरिन् । पूर्वमुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शेरधन राईलगायत नेताहरुसँग भेट गरी सुझाव लिइन् ।
काेशी प्रदेश भ्रमणका क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
‘देशको राष्ट्रपति भइसकेको मान्छे, संगठित सदस्य लिनुभन्दा अघि नै पार्टीका काम गरेको मान्छे । पार्टीमा चिनजान ठूलै छ, क्षेत्रहरुको चिनजान हुन्छ,’ उनले विराटनगरमा भनिन्, ‘देशको विचार, आकांक्षाहरु के छ, नयाँ पुस्ताले के चाहन्छ ? त्यो हिसाबले म देशभित्र घुमफिर गर्न एमालेका कमिटीहरु नेताहरुसँ मैले अनुमति लिइरहनु पर्दैन ।’
हाल एमालेमा ७० वर्षे उमेर हद नरहे पनि त्यसलाई भदौमा हुने विधान महाधिवेशनमा लागू गर्ने विषयमा पार्टीभित्र बहस सुरु भएको छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले उमेर हद निलम्बन भए पनि विधान महाधिवेशनमा बहसको विषय भएको बताए ।
‘म ७० वर्ष पुगिसकेँ । म त छाडिदिन्छु भन्छु । यो उमेरका अरुले पनि बाटो खुला गरिदिनुपर्छ,’ उनले भने, ‘आगामी विधान महाधिवेशनमा बहसको विषय बन्ने छ ।’
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजवादीबाट एमालेका आएका मुकुन्द न्यौपाने नेताहरुको हकमा उमेर हद निलम्बन गरेको उल्लेख गर्दै यो बहसको विषय भइसकेको बताए । ‘दसौं महाधिवशेनले पारित गरेको विधानमा अहिले पनि उमेर हदको कुरा उल्लेख छ । त्यसलाई व्यावहारिकताका हिसाबले स्थगत गरियो,’ उनले भने, ‘ओ अनुमोदनका लागि अब विधान अधिवेशनमा जान्छ । त्यो अधिवेशनले उमेर हद राख्ने कि नराख्ने निर्णय गर्छ ।’
तर जेठ २५ मा अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा ओलीले ७० वर्षे उमेर हद फेल खाइसकेको बताए । ‘७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर ?,’ ओलीले भने, 'स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो ।’
२०८० जेठमा बसेको एमाले सचिवालय बैठकले पार्टीको कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको थियो । एमालेको २०६५ सालमा बुटवल भएको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनले ७० वर्ष प्रावधान ल्याएको थियो । २०७८ असोजमा ललिलतपुरको गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले ७० वर्ष उमेर हदलाई पारित गरेको थियो ।
०0०
'पूर्वराष्ट्रपतिले एमालेको राजनीतिप्रति रुचि राख्नु अस्वाभाविक होइन'
- वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल
एमाले पार्टीमा ७० वर्ष उमेर हद फेरि ब्युँताउन खोजेको हो ?
हाम्रो पार्टीले ७० वर्ष उमेर हदलाई हालका लागि स्थगन गरेको हो । दसौं महाधिवेशन र विधान महाधिवेशनमा पास भएको विधानमा उमेर हदको कुरा स्पष्ट रूपमा किटान गरिएको छ, तर व्यावहारिक ढंगले केही समाजवादीबाट आउने साथीहरूको हकमा तत्काल अप्ठ्यारो नहोस् भनेर तत्काल स्थगन गरिएको हो । विधानको प्रावधान के हो भने भने स्थगन गरिएको कुरा पनि विधान महाधिवेशनमा अनुमोदनको लागि प्रस्तुत गर्नुपर्छ । यदि अनुमोदन भयो भने स्थगन लागू हुन्छ, नभए पहिलेकै व्यवस्था लागू हुँदैन । यसको वैधानिक व्याख्या यो हो ।
सातौं महाधिवेशनमा अध्यक्ष केपी ओलीले यो सोच ल्याउनु भएको थियो, तर त्यो बेला स्वीकार भएन । त्यसपछि एउटा कार्यदल बनाइयो, जसमा म पनि थिएँ । त्यो कार्यदलले दिएको प्रतिवेदनका आधारमा आठौं महाधिवेशनमा पार्टी जीवनको लोकतान्त्रीकरण भनेर बहुपदीय संरचना, दुई कार्यकालको सीमा र उमेर हदको कुरा पनि आयो । पार्टी जीवनको लोकतान्त्रीकरणमा अगुवाइ गर्ने नेता हाम्रो अध्यक्ष नै हो । दसौं महाधिवशेनले पारित गरेको विधानमा अहिले पनि उमेर हदको कुरा उल्लेख छ ।
तपाईंको विचारमा उमेर र कार्यकाल सीमाबारे के धारणा छ ?
सामान्य अवस्थामा कार्यकारी पदमा दुई पटकभन्दा बेसी रहने व्यवस्था हुनु हुँदैन । कतिपय अवस्थमा विशेष अवस्था आइलाग्ला, त्यो अलग कुरा हो । तर सामान्य अवस्थामा दुई पटकभन्दा बेसी एउटै पदमा रहिरहँदा धेरैखालका समस्या हुन सक्छन् । पार्टी जीवनको लोकतान्त्रीकरणको अभियानमा यो प्रसंग पनि जोडिएको थियो ।
अध्यक्ष केपी ओलीले फेरि तेस्रो कार्यकालका लागि चाहना राख्नुभएको होइन ?
पार्टीको आवश्यकता र विषेश आवश्यकता हुँदाखेरि त नहुने कुरै भएन । आवश्यकता हो कि होइन, विधान महाधिवेशनले छलफल गर्छ । देश र पार्टीको आवश्यकता के हो ? त्यो निर्णय महाधिवेशनका प्रतिनिधिहरूले छलफल गरेर टुंगो गर्ने कुरा हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन लाग्नुभएको भन्ने चर्चाले एमालेमा हलचल छ नि ?
मैले सुनेअनुसार उहाँले पार्टीको सदस्यता नवीकरण गर्नुभएको छ । पार्टीभित्र फर्कनुहुन्छ भने त्यो उहाँको व्यक्तिगत निर्णय हो । जे भए पनि पार्टीभित्र सबै कुरा सल्लाह र परामर्शबाटै हुने हो । पूर्वराष्ट्रपतिको राजनीतिमा आउने औपचारिक रुपमा भन्नुभएको छैन । उहाँले पहिले नै सदस्यता नवीकरण गरेको भनिसकेपछि अब के गर्नुहुन्छ ? उहाँको कुरा हो । पार्टी अध्यक्षले भन्नुभएको छ– परामर्श र सहमतिको आधारमा हुन्छ । कित्ताबन्दी गरिरहन पर्दैन । पार्टीभित्र सल्लाह, परामर्शबाट हुन्छ ।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु उपयुक्त हो ?
मैले उहाँको अन्तर्वार्ता हरेको थिएँ । उहाँ यही पार्टीमा हुर्किनुभयो । यही पार्टीले उहाँलाई बनायो । अहिले म यो पार्टीबाट कसरी अलग हुन सक्छु भन्नुभएको छ । यो मलाई अनुचित लागेको होइन । उहाँलाई पार्टीले राष्ट्रपतिसम्म बनाएको पार्टी हो नि । उहाँले एमालेको राजनीतिप्रति रुचि राख्नु के अस्वाभाविक कुरा हो र ?
०0०
'अहिले नै पूर्वराष्ट्रपति भण्डारी नेतृत्वमा आउने चर्चा असान्दर्भिक'
- प्रदीप ज्ञवाली, उपमहासचिव, एमाले
एमालेमा ७० वर्षे उमेर हद हुनुपर्ने/नपर्नेबारे बहसको अर्न्त्य के हो ?
यो विषयमा आाउने विधान महाधिवेशनमा छलफल गर्छौं । यो प्राविधिक विषय हो । सैद्धान्तिक होइन । नेतृत्व कस्तो हुने भन्ने विषय आन्दोलनले निर्माण गर्ने कुरा हो । यो त्यतिबेला एउटा अवस्थामा यो लागू भयो । तर पार्टी एकतामा आउने साथीहरुका लागि ड्रप भयो र अहिलेसम्म पनि कस्तो नेतृत्व बनाउने कुरा विधान महाधिवेशनले निर्धारण गर्ने कुरा हो ।
भदौमा हुने विधान महाधिवेशनमा उमेर हदलगायत विषयमा बहस हुने भएकाले त्यो मितिसम्म पर्खनु उपयुक्त हुन्छ । अहिले पक्ष वा विपक्षमा छलफल हुनुपर्ने बेला होइन । फेरि पनि आन्दोलनको आवश्यकताले नेतृत्व निर्माण गर्ने मुख्य प्रश्न हो । अरु विषय प्राविधिक हुन् भन्ने लाग्छ । अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमै ७४ मा लाग्दै छु तर पनि पार्टीको नेतृत्व उमेरभन्दा विचार, राजनीति र आन्दोलनले गर्ने अर्थमा भन्नुभएको हो । ७० वर्षे उमेर हलको व्यवस्था सैद्धान्तिक प्रश्न होइन । यतिबेला पार्टीमा बहस गर्न जरुरी हुँदैन । आन्दोलनको आवश्यकता के हो भन्ने कुराले अरु विषय तर्जुमा गर्ने कुरा हो । ७० वर्षकाथिकाले नेतृत्व गर्न सक्दैन, त्योभन्दा तलका उमेरले नेतृत्व गर्न सक्छ भन्नु गलत हुन्छ । किनकि नेतृत्व विचार, राजनीति र आन्दोलनको आधारमा निर्माण हुन्छ ।
अध्यक्ष ओलीले दुई कार्यकाल नेतृत्व गरिसकेको सन्दर्भमा कतिपय नेताहरुले अब रिटायर्ड हुनुपर्छ भनिरहेका छन् नि ?
नेतृत्वमा दुई कार्यकालको प्रावधान विधानमा व्यवस्था छैन । केही नेताले चर्चा गरिरहनुभएको छ । विधान अधिवेशनमा छलफल गर्यौं । तर ७० वर्षे उमेर हद पारित भयो । दुई कार्यकाल मात्र नेतृत्वमा रहने विधानमा व्यवस्था छैन ।
पूर्वराष्ट्रपति भण्डारी पार्टी नेतृत्वमा आउन खोजेको देखिन्छ नि ?
अहिले नै केही साथीहरुबाट यो चर्चा गरेको सुनिन्छ । यो चर्चा असान्दर्भिक छ । महाधिवेशनको मिति तोकिएको छैन । को नेतृत्वमा आउने/नआउने आगामी महाधिवेशनमा बहस हुने होला । अहिले नै को नेतृत्वमा आउने, को नआउने बहसले आन्दोलनमा भ्रम सिर्जना गर्छ । एकाग्र भएर सरकार र पार्टीको मिसनमा लाग्ने बेला अहिले नेतृत्वको कुरा गरेर भ्रम सिर्जना गर्नु हुँदैन । यसमा साथीहरुका बुझाइ र चासो होलान् । यसले राम्रो भएको छैन । उपयुक्त समयमा बहस गर्ने कुराले पार्टीलाई राम्रो गर्छ । नेतृत्वको बहस गर्नु आगामी महाविधेशन कुर्नुपर्ने हुन्छ ।
