काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने दाङ घोराही उपमहानगरपालिका-१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका-३ बस्ने गोरखा धार्चे गाउँपालिका-५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् ।
दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जनाबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जनाबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो । सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका-७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
