संघीय निजामती सेवा विधेयक पारित गर्न माओवादीको माग

असार ५, २०८२

कान्तिपुर संवाददाता

Maoist demand to pass Federal Civil Service Bill

काठमाडौँ — प्रमुख प्रतिपक्षी माओवादीले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवासँग सम्बन्धित विधेयक संसदीय प्रक्रियामा अगाडि बढाउन माग गरेको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभाको बिहीबारको बैठकमा निजामती विधेयक अगाडि बढाउन माग गरेका हुन् ।

प्रमुख सचेतक पाण्डेले निजामती विधेयकसँगै, विद्यालय शिक्षासँग सम्बन्धित र नागरिकतासँग सम्बन्धित विधेयक अगाडि बढाउन माग गरेका हुन् । बजेटमाथिको छलफलसँगै विधेयक पारित गरी स्थानीय सरकार र प्रदेश सरकारका समस्याको हल गर्नुपर्ने उनको भनाइ थियो ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लामो समयदेखि बहुप्रतीक्षित विधेयक हो । यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट उपसमिति, समिति हुँदै सदनमा प्रस्तुत पनि भइसकेको छ । यो विधेयक २०८० फागुन २१ गते सदनमा दर्ता भएको थियो । २०८० चैत २१ गते विचार गरियोस् भनेर सदनमा सैद्धान्तिक छलफल भएको थियो । २०८१ जेठ १५ गते समितिमा सदनबाट पठाइएको थियो र २०८२ असार १ गते प्रतिनिधिसभामा यो पेस भएको छ । यसरी पेस भएपछि पनि असार ३ गते यही विधेयक उपर कार्यसूची पनि तय भएको थियो तर त्यस दिन कार्यसूचीबाट हटाइयो । 

प्रमुख सचेतक पाण्डेले माओवादीसँगै अरु विपक्षी दलको तर्फबाट पनि अति महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने बताए । 'तत्काल यो विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सरकार भन्छ एकातिर विधेयक छिटो प्रस्तुत गर्ने हो, छिटो ल्याउने हो तर व्यवहारमा भन्छ एकथोक र गर्छ अर्कोथोक,' उनले भने, 'विधेयक अविलम्ब पारित गरेर देशमा भएको निजामती कर्मचारीमात्र होइन स्थानीय सरकार, प्रदेश सरकार सबैको समस्या हल गर्नुपर्छ । यो कुरा फेरि पनि प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

पाण्डेले विपक्षी दलहरूको तर्फबाट अति महत्वपूर्ण विधेयक लगातार सदनबाट पारित गरियोस् भनेर भनिरहे पनि सरकारको तर्फबाट त्यसो हुन नसकेको बताए ।  

कान्तिपुर

Link copied successfully