नवलपरासी — बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा ग्राभेल हालेर केही बेरअघिबाट यातायात सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी मुधु नेपालले दाउन्नेको दलदल हिलोमा ग्राभेल राखेर भर्खरै यातायात सञ्चालन गराइएको जानकारी दिएका छन् ।
हिलोको दलदलमा फसेको सडकमा ग्राभेल राखेर सहज बनाएपछि गाडी गन्तव्यतर्फ हिँडेको नेपालले बताए ।
बिहीबार दिउँसोबाट दाउन्नेको विश्वकर्मा मन्दिरअगाडिको दलदल हिलोबाट गाडी निकाल्न ग्राभेल राख्न थालिएको थियो । वर्षा रोकिएकाले ग्राभेल हाल्न सजिलो भएको र ४० घण्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ हिँडेका हुन् ।
तत्कालका लागि दुम्कीवासदेखि पश्चिम खुर्सानी खोलासम्मको खण्डमा ग्राभेल हालेर यस वर्षामा जाम हुन नदिने गरी काम सुरु गर्न आयोजना प्रमुख चुडाराज ढकालसहितको बैठकले बिहीवार दिउँसो ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।
यस वर्षाभरि खाल्डाखुल्डी भएका र चिप्लिने ठाउँमा आवश्यक पर्ने ग्राभेल राखेर रोलरले दबाएर काम गर्ने व्यवस्था मिलाइएको बुटवल–नारायणगढ सडकअन्तर्गत पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिए ।
बिहीबार ढकालसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा बसेको बैठकपछि यस्तो निर्णय भएको हो । गत तीन दिनदेखि दाउन्नेको हिलोमा फसेका गाडी निकाल्न नसक्दा त्यहाँ गैंडाकोटदेखि सुनवलसम्म करिब एक सय किलोमिटर राजमार्गमा जाम भएको थियो ।
