रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी एक हजार रुपैयाँ अनुदान

असार ५, २०८२

कान्तिपुर संवाददाता

A subsidy of Rs 1,000 per head to Raithane paddy farmers

बागलुङ — ‘हाइब्रिड’ बिउबिजनले कृषि क्षेत्रका पुराना जात लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ । 

किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी एकएक हजार रुपैयाँ अनुदान दिइने वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए ।

वडा समितिले रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको हो । आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको पौडेलले जानकारी दिए । 'तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड पनि वडाले राख्छ,' उनले भने, 'वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइन्छ ।'

लोपोन्मुख धान भएकाले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उहाँले बताउनुभयो । पहिलो चरणमा किसानलाई अनुदान दिन वडाले रु ५० हजार विनियोजन गरेको हो ।

'उत्पादन पनि बढाउने, रैथाने बाली पनि जोगाउने व्यवस्थामा साथ दिनुपर्छ,' नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, 'किसानलाई खुसी बनाउने प्रयासमा छौँ ।” धेरै उत्पादन गरेका किसानको धान नगरपालिकाले पनि बजारीकरणमा साथ दिने उनले बताए । 

कान्तिपुर

Link copied successfully