ट्रयाक खुलेदेखि स्तरोन्नति हुन नसकेको ‘सेफत’ भीरमा सधैं दुर्घटनाको जोखिम

असार ४, २०८२

माधव अर्याल

There is always a risk of accidents in 'Sefat' Bhir, which has not been upgraded since the track was opened

पाल्पा — रामपुर नगरपालिका–६, तिलपुरका ७६ वर्षीय देवराज ढकाल २०३२ सालतिर नै सेफत भीरमा ट्रयाक खोल्ने काम गरेको सम्झन्छन् । त्यतिबेला रामपुर, दर्छा, गाँडाकोट, खालीवनका धेरैको पसिना सेफत भीरमा बगेको छ। किनकि यो भीरमा ट्रयाक खोल्ने काम निकै कठिन थियो। झन्डै ६ मिटर क्षेत्र ट्रयाक खुल्नै १० वर्ष लागेको उनले सम्झन्छन् ।

‘सेफतको भीरले धेरै दुःख दिएको हो,’ उनले भने, ‘पछि सरकारी योजना परेपछि मात्र चट्टान फुटाउन विस्फोट गराउने अनुमति पाएको हो ।’ त्यसअघिसम्म स्वीस, जर्मन लगायतको सहयोग थियो । ‘कामका लागि खाद्यान्न’ कार्यक्रम पछि आएपछि बल्ल केही राहत पाएको हो । होइन भने प्रधानपञ्चले नेतृत्व गर्ने र जनतालाई ल्याएर छिनोले ढुंगा काट्ने काम गरेर यहाँ ट्रयाक खुलेको हो । यो सडकका लागि स्वर्गीय ज्ञानप्रसाद अर्याल, यमनाथ देवकोटा, दिवाकर शर्मा लगायतको ठूलो मिहिनेत छ।

उनका अनुसार २०३७ सालतिर धेरै वर्षदेखि ट्रयाक खुलेको थिएन । कामका लागि खाद्यान्न अन्तर्गत हेभी इक्विपमेन्ट प्रयोग नगरी खनिएको हो । गैंती, कोदालो, छिनोलगायतका घरेलु सामग्री प्रयोग गरेर खनेको ट्रयाक हो । ‘तर सक्दै नसकिने अवस्था आएपछि भने बम विस्फोट गराएर सेफत भीरको ट्रयाक खुलेको हो,’ उनले भने, ‘तर अहिलेसम्म पनि यसको स्तरोन्नति हुन सकेको छैन । सरोकारवाला निकायको बेवास्ताले नै यस्तो भएको हो।’

There is always a risk of accidents in 'Sefat' Bhir, which has not been upgraded since the track was openedरामपुर नगरपालिका–९, लाम्दीखोलाका उमाकान्त अर्यालका अनुसार सेफत भीरमा २०४३ सालतिर ट्रयाक खोलेर जिप, ट्र्याक्टर पास गरिएको हो । त्यसपछि २०४६ सालको अन्तिमतिर जब्गादीसम्म बस आउन सुरु भएको हो । अन्य स्थानमा खन्ने भन्दा बढी समय सेफत भीरले लिएको उनले बताए । ‘आर्यभञ्ज्याङदेखि ताहुँ, जब्गादी हुँदै रामपुरसम्म ट्रयाक खुल्दा ठूला मेसिन प्रयोग भएको छैन,’ उनले भने, ‘वातावरणीय हिसाबले अत्यन्त राम्रो गरी सडक खनिएको हो ।’ उनका अनुसार आर्यभञ्ज्याङदेखि नै सडकको छेउमा माटो भर्दै त्यहाँ बिरुवा रोपिँदै आएको छ । २०५९ सालपछि भने ठूला मेसिन प्रयोग गरेर सडकको माथिल्लो भाग काट्ने र तल्लो भागमा गग्रेटो फाल्ने गर्दा पहिला लगाएका रुखसमेत नासिएको छ ।

‘सिलुवालगायत केही ठाउँमा मात्र त्यस्ता पुराना रुख लगाएको देख्न सकिन्छ,’ उनले भने, ‘मानवशक्तिबाटै निर्माण गरिएको सडक भए पनि पछिल्लो समय वातावरण विनाश गर्दै ठूला मेसिन लगाएर पहिरो खस्ने गरेको छ।’ आर्यभञ्ज्याङ–रामपुर (४९) किलोमिटर पाल्पाको पूर्वभेगका बासिन्दाको लाइफलाइन सडक बनेको थियो । सडकले धेरैवटा गाउँ जोड्ने मात्र होइन, उल्लेख्य जनसंख्या र अप्ठेरो भूगोललाई पनि समेटेको छ । तर यो सडकको स्तरोन्नतिमा भने सम्बन्धित निकायको ध्यान पुगेको छैन । यो ग्रामीण सडकले साविकका धेरै गाविस समेटेको थियो । अहिले रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढीलाई समेटेको छ । २०६९ सालसम्म ओटासिल कार्य सम्पन्न भएको हो । तर बर्सेनि वर्षायाममा यस भेगका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

साँघुरो सडक, उप्किएको ओटासिल, पहिरो खस्ने समस्या उस्तै छ । अझ रामपुर नगरपालिका–९ र पूर्वखोला गाउँपालिका–५, बीरकोटको सीमाना सेफतको भीरले जहिलेसुकै यो सडकमा त्रास उत्पन्न गराउने गर्छ । यहाँ ठूला दुर्घटना नभए पनि सानातिना दुर्घटना हरेक वर्ष हुने गरेको रामपुर नगरपालिका–९ का वडाध्यक्ष डिलबहादुर रानाले बताए । उनका अनुसार सेफत भीरको झन्डै ६ सय मिटर सडक कालोपत्र गरिएको थिएन। यहाँ ग्राभेल गरेर छाडिएको हो ।

‘हिउँदमा धुलो र वर्षा सुरु भएसँगै हिलोले सताउने गर्छ,’ उनले भने, ‘चिप्लो बाटो र यहाँ दुर्घटनाको जोखिम अधिक छ।’ भीरको सडकमा पानी उम्रने, शीत पर्ने गर्दा हिउँद–वर्षा जहिलेसुकै चिप्लिने डर हुन्छ । चार वर्षअघि कतिपय स्थानमा सडक चौडा गरे पनि पहिरोका कारण सडकको अवस्था उस्तै छ । वडाध्यक्ष रानाका अनुसार असार २ गतेको जिप दुर्घटनासमेत चिप्लो भएका कारण भएको हो । यहाँ दुई जनाले ज्यान गुमाए भने दुर्घटनाग्रस्त जिप झन्डै ५ सय मिटर तल पुगेको थियो ।

There is always a risk of accidents in 'Sefat' Bhir, which has not been upgraded since the track was openedयो सडक डाँडाबस्ती छिचोल्दै लगिएकाले महत्त्वपूर्ण छ। सडकको सेर्कावास, बेलौतीघारी, बीरकोट, सेफत, सिलुवा, सानोगल्धा, चापगैरा लगायत स्थानमा भासिएको छ । हरेक वर्ष पहिरोले समस्या निम्त्याउने गरेको छ । वर्षायाममा सातादेखि महिना दिनसम्म आवागमन बन्द हुने समस्या छ । सडक बन्द हुँदा डाँडाबस्तीलाई समस्या हुने गरेको छ ।

विगतमा तत्कालीन जिल्ला विकास समितिमार्फत् रहेको सडक केही समय सडक डिभिजनले हेर्दै आएको थियो । अहिले लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रामपुर–रोल्पा सडकअन्तर्गत पर्छ । कालीगण्डकी करिडोर सडक कालोपत्र भएसँगै यो डाँडाबस्ती समेटेको सडक बेवास्ता परेको छ । प्रदेश सरकारले काम गरे पनि बजेट अभावले गर्दा थोरै मात्र प्रगति भएको छ । हुमीनदेखि ताहुँसम्म ४ किलोमिटर सडक स्तरोन्नतिको काम प्रदेश सरकारले तीन वर्षदेखि सुरु गरेको छ ।

प्रत्येक वर्ष वर्षा लागेपछि पहिरो खसेर सास्ती खेप्नुपर्ने पूर्वखोला–५, बीरकोटका वडाध्यक्ष विष्णु पल्लीले बताए । वर्षायाममा सधैं सास्ती खेप्दै यात्रा गर्नुपर्ने बाध्यता छ। साविक जिविसका पूर्वसभापति झपेन्द्र जीसीले सडकमा डोजर, स्काभेटर लगाएर खन्न सुरु भएपछि पहिरो खस्ने समस्या निम्तिएको बताए । ‘वातावरणीय अनुकूलता कायम गरी खनिएको सडकमा डोजर प्रयोग गर्न थालेपछि झनै समस्या बढेको हो,’ उनले भने, ‘त्यसबेला लगाएका लाकुरीका रुख पनि अहिले डोजर लगाउँदा ढालेका छन् । यसले झनै समस्या ल्याएको छ ।’ स्तरोन्नतिको नाममा जथाभावी सडक खन्दा वातावरणीय समस्या आएकाले दुर्घटना हुने, पहिरो खस्ने समस्या भएको उनले बताए ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully