मितेरी सहकारीको बचत अपचलनका आराेपी भण्डारीलाई आज कम्बोडियाबाट ल्याइँदै

असार ४, २०८२

कान्तिपुर संवाददाता

The ARP Bhandari of Miteri Cooperative's savings embezzlement is being brought from Cambodia today

काठमाडौँ — ललितपुरको मितेरी मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा आजै काठमाडौं ल्याइने भएकाे छ । अध्यागमन स्रोतका भण्डारीलाई सिंगापुर एअरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुर हुँदै काठमाडौं ल्याइन लागेको हो । उक्त विमानको काठमाडौंमा अवतरण तालिका राति ९ बजेर ४५ मिनेटमा रहेको छ ।

मितेरी सहकारीमा केही वर्षअघिसम्म कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन् । महाप्रबन्धक रहेकै बखत सहकारीको बचत रकम अपचलन गरी उनी भागेकी थिइन् । ज्योति र अर्का आरोपित ज्योतिबहादुर भण्डारी रकम अपचलन गरेर फरार भएपछि दुवै जनालाई प्रहरीले ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’मा समेटेर फरार सूचीमा राखेको थियो ।

उनीहरू फरार भएपछि मात्र उक्त सहकारीको बचत ठगी प्रकरण बाहिरिएको थियो। ज्योतिबहादुर सुरुमा थाइल्यान्डबाट कम्बोडिया हुँदै हाल श्रीलंकाको कोलम्बो पुगेको प्रहरीको सुरुवाती अनुमान थियो । 

मितेरी बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त लाहुरेहरूको पहलमा खोलिएको सहकारी हो । बर्दिया घर भएका ज्योति समेतले सहकारीको रकम अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानकाे निष्कर्ष छ । इन्टरपोलमार्फत प्रहरीले भण्डारीलाई पक्राउ गरेर नेपाल ल्याउन लागेको हो । त्यसका लागि एसपीको कमान्डमा नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । 

कान्तिपुर

Link copied successfully